दिवा खाजामा नाममा जंकफुड




रामकरन हरिजन —

परासी । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र विद्यार्थीलाई पौष्टिक आहारको मात्रा पुर्याउँन सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको भए पनि पश्चिम नवलपरासीको एउटा विद्यालयमा दिवा खाजाको नाममा चाउचाउ, विस्कुट जस्ता जंकफुड वितरण गरेको पाइएको छ ।




अण्डा, मासु, चना, तरकारी, भट्ट, मकै जस्ता पौष्टिक आहार त्यो पनि साताको ६ दिन फरक फरक खाजा दिनु पर्ने व्यवस्था रहेको भए पनि त्यसको विपरित पश्चिम नवलपरासीको पाल्ही नन्दन ४ स्थित पाल्ही भगवती प्राथमिक विद्यालयले विद्यार्थी बालबालिकाहरुलाई विद्यालयमै जंकफुड दिवा खाजाको रुपमा दिने गरेका छन्।

चितवन नवलपरासी रुपन्देही कपिलबस्तु दाङ तराई क्षेत्रमा बालविकास देखि कक्षा पाँच सम्मका बालबालिकाहरुलाई चामल खैरो भटमास आलु पालु·ो सागहरियो धनियाको पात सुर्यमुखीको तेल गहुँको पिठो चनाको दाल सखरखण्ड दिवा खाजाको रुपमा खुवाउन नेपाल सरकारले मापदण्ड पुस्तिका बनाएको छ।

पाल्हीनन्दन गाउँपालिका वडा नं ४ स्थित पाल्ही भगवती प्राथमिक विद्यालयमा बालविकासदेखि कक्षा पाँच सम्म पढिरहेका प्रत्येक बालबालिकाहरुलाई चाउचाउ, विस्कुट विद्यालयले दिवा खाजाको रुपमा दिने गरेको स्थानीय छोटेलाल पासीले बताए।

बालविकासदेखि कक्षा ५ सम्म पढिरहेका प्रत्येक विद्यार्थीहरुलाई कम्तीमा ५० ग्राम पोषणयुक्त खाजा खुवाउन नेपाल सरकारले बनाएको दिवा खाजाको मापदण्ड विपरीत पाल्ही भगवती प्राथमिक विद्यालयले बालबालिकाहरुलाई दिवा खाजा खुवाएको स्थानीय अभिभावक सैलेन्द्र विश्वकर्माले बताए ।

उनका अनुसार बालबालिकाको बृद्धि र विकासका लागि पोषण युक्त खाना खुवाउन लागि १५ रुपैयाका दरले कम्तीमा ५० ग्राम नेपाल सरकारले बजेट व्यवस्थापन गरेको छ । शिक्षा विज्ञान तथा प्राबिधि मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट स्थानिय तहमा दिवा खाजाको रकम ससर्त अनुदानमा निकासा हुन्छ। नेपाल सरकारको मापदण्ड विपरीत चाउचाउ विस्कुट पाल्ही भगवती प्राथमिक विद्यालयले बालबालिकाहरुलाई दिवा खाजा खुवाएको छ ।

पाल्ही भगवती प्राथमिक विद्यालयका शिक्षकहरुले दिवा खाजाको रुपमा बालबालिकाहरुलाई विस्कुट वितरण गरिरहेको आफूले पनि भेटेको ले विस्कुट वितरण नगर्न निर्देशन गरेको वडा अध्यक्ष रविन्द्र सहानीले बताए ।

विद्यालयका प्रधानाध्यापक उजयराज मौर्यले भने आफूले दिवा खाजाको मापदण्ड अनुसार नै अण्डा, चना, केराउ, खिर र चाउचाउ पकाएर खुवाउने गरेको दावी छ । यता पाल्हीनन्दन गाउँपालिकाका शिक्षा शाखा अधिकृत प्रमोद यादवले आफूहरुले भन्दा पनि विद्यालय व्यवस्थापन समितिले यस विषयमा निगरानी बढाउनु पर्ने बताउँछन् ।



सम्बन्धित
Loading...