बुटवल नारायण सडकको दुर्दशा, पर्यटन व्यसाय समेत प्रभावित

राजु सुवेदी कल्पित —
कावासोती । ठेक्का सम्झौता अनुुसार काम भएको भए अहिले नारायणगढ बुटवल सडक खण्ड बिस्तारको काम सकिसकिएको हुन्थ्यो । चिल्ला र छ लेनको फराकिला सडकमा सररर यातायातका साधन दौडिएका हुन्थे । तर यहाँ अवस्था ठ्याक्कै उल्टो भएको छ । ३ वर्षको को अवधीमा बिस्तारको काम सक्ने भनिएको सडक बिस्तारको काम ४ वर्षमा मुस्किलले २५ प्रतिशत सकिएको छ ।
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगतको नारायणगढ बुटवल सडक खण्डको दुरी जम्मा १ सय १४ किलोमिटर हो तर यो राजमार्ग पार गर्न यातायात का साधन र यात्रुलाई माहाभारत हुने गरेको छ । सडक भरि ठुला खाल्डा, दर्जनौ डाईभर्सन धुलो र धुवाको सास्तीले यो राजमार्ग नभएर कालमार्ग अनुभव गरेका हुन्छन् यात्रुहरुले । त्यसमाथि राजमार्गको आसपासका बासिन्दा का आफ्नै पिडा छन् । घर आसपास चौबिसै घण्टा धुलोमा रहनुपर्ने बाध्यता र श्वासप्रसासमा समेत समस्या भएको स्थानीय रवि सुवेदीले बताए ।
यहि राजमार्ग भएर गुड्ने साना सवारीका साधनलाई झनै सास्ती छ । जताततै डाईभर्सन छ । ठुला सवारी साधनले साईड नै दिदैनन् त्यसमाथी ठुला सवारीले सडकका खाल्डा छल्न खोज्दा साना सवारीलाई च्याप्ने गरेको बाईक तथा साईकल चलाउने यात्रीको गुनासो छ । त्यती मात्र होईन यस मार्गमा गाडी चलाउनु भनेको आफ्नो यातायातको साधन थोत्रो बनाउनु जस्तै हो । ठुला खाल्डाखुल्डी नपुर्दा यातायातको साधनको पट्टा भाच्चिरहने समस्या थपिएको स्थानिय डन्डा कावासोती रुटमा गाडी चलाउने ड्राईभरले बताए । राजमार्ग ठेक्का लिएको ३ वर्षको अवधिमा सडक निर्माणको काम सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता भएपनि यो खण्डमा २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गत साउन २२ गते ३ वर्षे अवधि सकिएपछि एक वर्ष थपिएको हो ।
चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले करिब १७ अर्बमा ठेक्का लिएको यस राजमार्गको सिलन्यास २०७५ चैत ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा गरेका थिए । निकै तामझामका साथ सिलन्यास गरेको यो सडकको दुरवास्था न सिलन्यास गर्ने ले देखे न राज्यलेनै देख्छ । जनता भने ३ घण्टाको दुरीको बाटो लाई छ सात घण्टा भन्दै धेरै समय लगाएर यात्रा गर्न बाध्य छन् ।
सडकको दुराअवस्थाका कारण यस क्षत्रमा सडक दुर्घटना समेत बढेको छ । नवलपुरमा मात्र गएको साढे दुई वर्षमा २ सय ६५ दुर्घटना भएका छन्भने उक्त दुर्घटनामा १ सय ९ जनाले ज्यान गुमाएका ट्राफिक कार्यालयका सुचना अधिकारी बताउछन् ।
पटक–पटक कोरोना कहर, नदीजन्य पदार्थको अभाव, रूख कटान र बिजुलीको पोल समयमा नसार्दा काम ढिलो भएको जिकिर गर्दै आएको ठेकेदारको यहि अबस्थामा सुस्त काम हुने हो भने सम्पन्न हुन अझै १२ वर्ष लाग्ने स्थानीय व्यवसायी बालकृष्ण पौडेलले बताए । राजमार्गको भद्रगोल अबस्थाले पर्यटन क्षेत्रमा समेत असर परेको नवलपुर पर्यटन समितीका अध्यक्ष फन्सुराम महतोको जिकिर छ ।
कोभिडले थलिएको अर्थ ब्यवस्थालाई राजमार्ग बिस्तारको ढिलाईले झनै मर्कामा परेको महतोले सुनाए । बाटोकै कारणले नवलपुर घुम्न आउने पर्यटक अन्य क्षेत्रमा गएको र यहाको होटल लगायत पर्यापर्यटनमा समेत कमि आएको नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना बताउछन् । विकास निमार्णको कार्य हुदा स्थानीयले मध्यस्थता गर्नु पर्छ तर सम्बन्धित निकायले संरचना निर्माण गर्दै गर्दा सम्झौता भएका सर्त र न्यनतम मानवियता निभाउनै पर्छ ।