देश अदृश्य शक्तिले चलाएको छः माओवादी प्रवक्ता महरा
रामकुमार श्रेष्ठ
नवलपरासी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी प्रवक्ता कृष्ण बहादुर महराले देश अदृष्य शक्तिले चलाएको बताएका छन् । शनिबार प्रेस सेन्टर नवलपुरको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने – अहिले हाम्रै पार्टीका अध्यक्ष कम्रेड प्रधानमन्त्री हुनुहुन्छ तर, देश अरुले नै चलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेर बहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तिनै जना नेताहरु देश नेपालकै राजनीतिक दलले चलाउनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ तर त्यसो हुन सकिरहेको छैन ।
महराले सरकारले जनताको पक्षमा काम गर्न नसकिरहेकोले त्यसको पत्रकारहरुले खबरदारी गर्नु पर्ने पनि बताए ।
उनले अहिले देशमा बन्दुकनै उठाउने बेला नभए पनि बन्दुक जस्तै अर्को शक्ति शाली चिज उठाउनु पर्ने बेला भएको छ । महराले पत्रकार सधैं सरकारको प्रतिपक्ष हुने भएकाले सोही अनुसार कलम चलाउन पत्रकारहरुलाई आग्रह पनि गरे ।
उनले पत्रकार महासंघ नवलपुरका भवनको जग्गा उपलब्धताको लागि आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य किसान शर्मा गैरे, प्रेस सेन्टरका केन्द्रिय सचिव बोमलाल गिरी, दीपक भट्टराई, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रमेश बस्ताकोटी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, प्रेस युनियनका केन्द्रिय सदस्य घनश्याम बगाले, प्रेस चौतारीका विद्रोही गिरी, सालिकराम कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।









