नवलपरासीमा चैते धान लगाउने चटारो


रामकुमार श्रेष्ठ –



नवलपरासी । पूर्वी नवलपरासीमा यति बेला नारायणी नदी आसपास र सिमसार क्षेत्रका किसानहरुलाई चैते धान लगाउन भ्याइनभ्याइ भएको छ ।
असार अगावै धान भित्राइसक्ने गरी लगाइने चैते धान पूर्वी नवलपरासीको गैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीमा हुने गर्दछ । चैते धान चिउरा र भुजा बनाउनका लागि अत्यधिक खपत हुने भएको कारण पनि चैते धान प्रति किसानका आकर्षण बढ्दो छ ।

पूर्वी नवलपरासीमा रहेका ८ वटा पालिका मध्ये ५ वटा पालिकामा अहिले चैते धान लगाउने चटारो बढेको छ । ५ वटा पालिका मध्ये गैडाकोट र कावासोतीमा बढी मात्रामा चैते धान खेती हुने गर्दछ ।



मकै बाली भन्दा राम्रो आम्दानी दिने असारे धान भन्दा पनि धेरै फल्ने भएर पनि चैते धान खेतीतर्फ यहाँका किसानको आकर्षण चैत धान खेती तर्फ बढेको देखिन्छ । त्यसो त अहिले पूर्वी नवलपरासीमा सिमसार क्षेत्रमा मात्र नभएर सिचाईको पहुँच पुगेको अन्य क्षेत्रमा पनि चैत धान लगाउने क्रम बढेको छ । किसानहरु असारमा झै हिलाम्य भएर धान खेती गर्न व्यस्त देखिने गरेका छन् ।

नवलपुरमा गत बर्ष १२ सय १० हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि विकास कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख छ । गत बर्ष यहाँ ६ हजार १ सय २३ मेट्रिक टन चैते धान उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्र नवलपुरका वागवानी विकास अधिकृत शंकर पौडेलका अनुसार नवलपुरमा यस बर्ष चैते धान खेती गर्ने क्रम पनि बढेको छ भने धान उत्पादन पनि बढ्ने देखिएको छ ।

सरकारले चैत धान ब्लक कार्यक्रम नै सञ्चालन गरेको र सिचाईको व्यवस्था पनि बढाउँदै लगेकोले चैते धान हुने क्षेत्र बढेको उनको दावी छ ।
त्यसो त स्थानीय सरकारले पनि चैते धानलाई लक्षित गरी कृषि योग्य क्षेत्रमा सिचाईको व्यवस्था बढाएको छ । कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले कावासोती नगरपालिकाले पनि कावासोतीको तल्लो भेगलाई कृषि क्षेत्रको रुपमा छुट्याएर सिचाई, मल विउ लगायतको व्यवस्था गरेको बताए ।

कुनै बेला धान निर्यात गर्ने देश अहिले धान आयात गर्ने देश बन्न पुगेको छ । त्यसैले पनि नेपालमा धान उत्पादन बढाउन कृषकहरुलाई हौसाला प्रदान गर्न सिचाई नपुगेको क्षेत्रमा सिचाईको व्यवस्था गर्ने, विउ र मलमा अनुदान दिनु आवश्यक रहेको कृषकहरु बताउँदछन् ।



सम्बन्धित
Loading...