नवलपुरः महिला हत्याका दोषीलाई कारवाहीको माग

रामकुमार श्रेष्ठ —
नवलपुर । एक साताअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको अभियोगमा देवचुली नगरपालिकाकाकी वडा सदस्यसहित आठ जनालाई कारवाही गर्न पीडित पक्षले माग गरका छन् ।
अघिल्लो बुधबार राति नवलपुरको बुलिङ्गटार गाउँपालिका २ छरछरे घर भई देवचुली नगरपालिका वडा नम्बर १ केउरेनीमा बस्दै आएकी ३३ वर्षीया तोलमाया बाचे मगरलाई कुटपिट गरि हत्या गर्ने ८ जनालाई कारवाही गर्न पीडित महिलाका श्रीमान नरबहादुर बाचे मगरले माग गरेका हुन्।
आज कावासोतीमा पत्रकार सम्मेलन गरि पीडित पक्षले महिलाको सुनियोजित तवरले हत्या गरेको भन्दै कारवाहीको माग गरेका हुन् ।
बिहीबार बिहान ३ बजे उनी बस्दै आएको घरमा हत्या गरि झुण्डाईएको अवस्थामा फेला परेको थियो ।
तोलमया र अटो चालक धनबहादुर नेपाली बीच अनैतिक सम्बन्ध रहेको भन्दै उनीहरूले बाचेलाई राति उनी सूतेकै कोठामा गएर कुटपिट समेत गरेका थिए ।
राति ११ बजेतिर कुटपिट गरेर पीडित महिलाको मोबाईल समेत लगेर भागेका उनीहरूले पछि पुन आएर कुटपिट गरि हत्या गरि झुण्ड्याएर भागेको उनीहरूले दावी गरेका छन् ।
मृतकका छोराले वडा सदस्य सहित ८ जनाले कुटपिट गरेर आफ्नी आमालाई मारेको बयान दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका सई टिकाराम पोख्रेलका अनुसार मृतकका लोग्ने नरबहादुर बाचे मगरले गाउँले मिलेर आफ्नी श्रीमतीको हत्या गरेको भन्दै किटानी जाहेरी दिएको आधारमा ८ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनबहादुर पनि रहेका छन् ।
उजुरी दिने तोलमायाका लोग्ने पाल्पामा ज्याला मजदुरीको काम गर्दै आएका थिए । देवचुली नगरपालिकाका वडा सदस्य सुकमाया सार्की समेत गएर बुधबार राति नै कुटपिट गरेको खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा उमा नेपाली, सुजन नेपाली, सुकमाया नेपाली, देवबहादुर बसेल सार्की, दिपककुमार नेपाली, सुशिल नेपाली, सोममाया बसेल नेपाली लगायत हुन् ।