नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता

नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ । आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् ।
आगामी मजदुर दिवसको दिन जनसभासहित एकताको औपचारिक घोषणा गर्ने नेकपा बहुमतका नेता हेमन्त प्रकाश ओली सुदर्शनले जानकारी दिए ।
यसअघि यी दुवै पार्टीले वैद्य र बास्तोला नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सो वार्ता टोलीमा गत साउन महिनामै पार्टी एकता गर्ने सहमति भएको थियो । त्यसको आठ महिनापछि काठमाडौंस्थित इच्छुक स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरिएको हो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला (कञ्चन)ले यो एकता प्रक्रियामा नेकपा मसाललाई पनि सामेल गराउन प्रयास भइरहेको बताएका छन् ।
कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुन: एक ठाउँमा आएका हुन् ।
पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६–६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो । समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सीपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका थिए भने नेकपा बहुमतबाट संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य थिए ।
नेकपा(क्रान्तिकारी माओवादी)का स्थाई समिति सदस्य सीपी गजुरेलको अध्यक्षता र नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीको सञ्चालनमा सो पत्रकार सम्मेलन गरिएको थियो ।
