कावासोती १७ खानेपानी आयोजनाको उद्घाटन
गोविन्द नेपाली —
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती १७ को कावासोती १७ खानेपानी आयोजनाको उद्घाटन गरिएको छ ।
सोमबार नेकपा एमालेका केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवम् पूर्व सांसद तिलक महतले आयोजनाको उद्घाटन गरेका हुन् ।
गण्डकी प्रदेश सरकार, कावासोती नगरपालिका र स्थानीयको श्रमदान गरी ३ करोड ६२ लाखको लागतमा आयोजना निर्माण गरिएको हो । अहिले ५३ घरलाई खानेपानी धारा वितरण गरिएको र तत्काल ६ सय ६७ घरधुरीमा खानेपानी धारा जडान गरिने आयोजनाका अध्यक्ष रामकृष्ण ढुंगानाले बताए ।
यहाँ आर्सेनिकयुक्त पानी पिउन बाध्य स्थानीय बासिन्दाले खानेपानी आयोजना सञ्चालनमा आएपछि शुद्ध पिउने पानी पिउन पाउने भएपछि स्थानीय उत्साहित भएका छन् । साविक कुमारवर्ती गाविस अर्थात हालको कावासोती १७ मा १७ सय ४४ घरधुरी रहेको छ ।
आयोजना उद्घाटन कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य एवम् संविधान सभा सदस्य जीवन श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठ, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसाल, कावासोती १७ का वडाध्यक्ष चुरामणि थनेत लगायतले मन्तव्य राखेका थिए ।





