के हुँदैछ बर्दघाटको ट्रमा ? जग्गा आवास कम्पनीकै भरमा ।
नारायण भण्डारी –
नवलपरासी – बहुप्रतिक्षित योजनाको रुपमा रहेको बर्दघाटको ट्रमा सेन्टर सबैका लागि चासोको बिषय बनेको छ । लामो समय देखी ट्रमा सेन्टर निर्माण हुने चर्चा भैरहेपनि अहिले सम्म जग्गा ब्यबस्थापन हुन नसकेका कारण टेण्डर हुन सकेको छैन ।
जग्गाको टुंगो लगाउनका लागि नगर प्रमुख सम्भुलाल श्रेष्ठ सहितको टोली अहिले काठमाण्डौमा छ । सहरी विकास कार्यालय चितवनले ट्रमा सेन्टरको निर्माणका लागि टेण्डर प्रकाशन गर्न जग्गाको टुंगो लगाउन भनी गत भदौमा पत्राचार गरे पनि हाल सम्म ठोस रुपमा टुंगो लाग्न सकेको छैन ।
सहरी विकासको पत्र आए संगै बर्दघाट नगरपालिकाको कार्यपालिका बैठकले चिसापानीकै जग्गामा बनाउने निर्णय गरेको थियो । आवास कम्पनीबाट जग्गा प्राप्तीका लागि विभिन्न प्रकृया पुरा गर्नुपर्ने भएकोले त्यत्ति सहज थिएन । नगरपालिकाले फेरी कार्यपालिका बैठक मार्फत पञ्चनगरमा वडा कार्यालय रहेको जग्गामा बनाउने निर्णय गरेको थियो ।
पञ्चनगरमा बनाउने निर्याय गरे संगै नगरपालिकाले सर्वदलिय बैठक बोलाएर सबैसंग राय सुझाव समेत लिने काम गरेको थियो । दलका प्रतिनिधिहरुले नगरपालिकाको निर्णयमा सहमती जनाएका थिए । नगर कार्यपालिकाले चिसापानी र पञ्चनगर दुबै ठाउँका लागि निर्णय गरेको देखिन्छ ।
पछिल्लो पटक आर्थिक बर्ष सकिनै लाग्दा चिसापानीमै बनाउन जग्गा प्राप्तीको लागि नगर कार्यपालिकाबाट राष्ट्रिय आवास कम्पनी संग जग्गा भाडामा लिने निर्णय गरिएको छ । कार्यपालिकाको निर्णय अनुसारनै हाल चिसापानीमै ट्रमासेन्टर बनाउने टुंगो लगाउनका लागि नगर प्रमुख सहितको टोली केही दिन देखी काठमाण्डौमा रहेको छ ।
टेण्डर आव्हानमा ढिलाई भए संगै यस विचमा ट्रमा सेन्टर नवलपुरमा जाने कुराले पनि निकै चर्चा पाएको थियो । विभिन्न बाहनामा ट्रमा सेन्टर नगर भन्दा बाहीर जाने अबस्था आउन नहुने र त्यस्तो अवस्थामा नगरपालिका भित्र जुनसुकै ठाउँमा बनाउँदा पनि फरक नपर्ने सबैको मत रहेको छ ।
ट्रमा सेन्टरको बहसको सरगर्मी बढिरहेका बेला नगर भित्र रहेका विभिन्न दलका नेतृत्वहरुले आ–आफ्ना धारणा हरु प्रस्तुत गरेका छन् । उनीहरुले प्रस्तुत गरेका धारणमा नगरपालिका भित्र जुनसुकै ठाउँमा बन्दा पनि फरक नपर्ने मत भने मेल खाएको छ । नगरपालिकाले चिसापानीमै बनाउनेमा जोड दिएका कारण जग्गा प्राप्तीको विषय भने राष्ट्रिय आवास कम्पनी संग भर पर्ने भएको छ ।
मेरो कारण ट्रमाको चर्चा देश भर सुरु भयो– पूर्व मन्त्री त्रिपाठी
जनता प्रगतिशिल पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफ्ना कारणले ट्रमा सेन्टरको चर्चा देशब्यापी रुपमा सुरु भएको बताए । उनले आफु स्वास्थ्य मन्त्री हुँदा काठमाण्डौमा एक ठाउँमा रहेको ट्रमा सेन्टर उपत्यका भन्दा बाहीर पनि आवश्यक महसुस गरी बर्दघाटमा ट्रमाका लागि बजेट विनियोजन गरेपछि ट्रमा सेन्टरको चर्चा देशब्यापी रुपमा सुरु भएको बताए ।
उनले त्यस अघि ट्रमाको बारेमा कहिँ कतै पनि चर्चा परिचर्चा नभएको बताउँदै बर्दघाटमा परेको योजना बाहिरिन नहुने बताए । ट्रमाको लागि जग्गा ब्यबस्थापन गर्न गत भदौमा नगरपालिकालाई सहरी विकास कार्यालय चितवनले पत्राचार गरे पनि त्यस यता लामो समय सम्म नगरपालिका गम्भिर नभएको उनको भनाई छ । आफुले दिब्यज्योती बुहुमुखी क्याम्पसको साधारणसभामा ट्रमाको बिषय गम्भिर रुपमा उठाएपछि बल्ल नगरपालिकाले जग्गाको विषयमा काम अगाडि बढाएको उनी बताउँछन् ।
जग्गाको विषयमा बोर्डले निर्णय गर्नुपर्ने भएकोले हाल सम्म बोर्डले निर्णय गरीनसकेको उनको भनाई छ । चालु आर्थिक बर्षको बजेट भाषणमा रुपन्देहीको सैनामैना र नवलपुरको देवचुलीमा ट्रमा बाउने उल्लेख भए पनि बजेट विनियोजन नभएको र बर्दघाटका लागि यस अघिनै बजेट विनियोजन भएको कारणले हाल सम्म बर्दघाटमा बन्ने सम्भावना जिवीत बनेको उनको भनाई छ । यदि कसै गरी जेठ १५ गते भित्र प्रकृया सुरु नभए आगामी बर्षका लागि हुने बजेट भाषणमा योजना अन्यत्र स्थानान्तरण हुने सम्भावना रहेको उनले बताए । त्रिपाठीले नेपालको भौगोलिक अवस्था र सडक संरचनाको अवस्था हेर्दा कम्तिमा देशभर ६ ठाउँमा ट्रमा सेन्टर निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए ।
चिसापानी र पञ्चनगर जता हुँदा पनि फरक पर्दैन– संविधान सभा सदस्य खनाल
नेपाली कांग्रेस लुम्विनी प्रदेश महामन्त्री एवं संविधान सभा सदस्य विक्रम खनालले ट्रमासेन्टर चिसापानी वा पञ्चनगर जता बने पनि फरक नपर्ने बताएका छन् । उनले कुनै पनि बाहनामा ट्रमाको योजना नगर भन्दा बाहिर जान नहुने पक्षमा आफु रहेको बताए । नगरपालिकाले एक पटक सर्वदलिय बैठक बोलाए पनि त्यस यता कुनै पनि समन्वय नभएको उनको भनाई छ ।
नगरपालिकाले समन्वय नगरे पनि आफ्नो तरिकाले ट्रमाका लागि पहल गरिरहेको नेता खनालको भनाई छ । चिसापानी जग्गाको विषयमा जग्गा गुम्न नहुने, त्यो जग्गा गुमेमा नगरको असक्षमता पुष्टि हुने उनको धारणा छ ।
चुनाब नजिकिएका कारण कार्यान्वयन गर्न सकिएन – निबर्तमान नगर प्रमुख बस्याल
जतिवेला बजेट बक्तब्य मार्फत बर्दघाटमा ट्रमा सेन्टरको योजना प¥यो तत्कालिन समयमा बर्दघाट नगरपालिकाको नगर प्रमुखको रुपमा धिरज शर्मा बस्याल थिए । तत्काल काम सुरु गर्नका लागि १० करोड बजेट विनियोजन भएतापनि रकम फ्रिज भएको थियो ।
बजेट कार्यान्वयन गर्ने समय र चुनाबको समय जुधेका कारण बजेटलाई कार्यान्वयनमा लैजान नसकेको उनले बताए । बजेटमा बर्दघाट उल्लेख गरे पनि सहरी विकास कार्यालय चितवनको रेकर्डमा दाउन्ने उल्लेख भएकोमो त्यसलाई सच्याएर बर्दघाटका लागि सुनिश्चित गर्ने कार्य गरिएको उनको भनाई छ ।
एमाले जिल्ला सचिव समेत रकेका बस्यालले नगरपालिकाले एकपटक सर्वदलिय बैठक राख्दा नगरभित्र जहाँ बनाउँदा पनि फरक नपर्ने धारणा राखेकोमा त्यस यता एक अर्का दलहरुविच समन्वय हुन नसकेको बताउँछन् ।
जग्गा भाडामा लिने कुराले चिसापानी जग्गाको मुद्दा कमजोर बनाउँछ – माओबादी नेता यादव
नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादवले चिसापानीमा रहेको जग्गा राष्ट्रिय आवास कम्पनी संग भाडामा लिएर ट्रमा सेन्टर बनाउँदा जग्गाको मुद्दा कमजोर हुने बताए ।
उनले त्यो जग्गा कुनैपनि हालतमा नगरपालिका माताहत आउनुपनर्,े आवश्यक परे खरिद गर्न नगरपालिका तयार हुनुपर्ने धारणा ब्यक्त गरे । ट्रमा सेन्टर चिसापानीमै बन्नुपर्ने आफ्नो धारणा रहेको तर जग्गा भाडामा लिने कुरा भने सहि नहुने उनको तर्क छ ।
चिसापानी अस्पताल संगै ट्रमासेन्टर बनाउँदा अन्य उपचारका लागि पनि सहज हुने भएकोले त्यहि जग्गानै उपयुक्त हुने यादवले बताएका छन् ।
नगरबाट नगुम्ने भरपर्दो सुनिश्चितता हुनुपर्छ– नेकपा एकिकृत समाजबादी नेता अधिकारी
नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य बृहस्पती अधिकारीले ट्रमा सेन्टर बर्दघाटबाट नगुम्ने सुनिश्चितता हुनुपर्ने बताएका छन् । सबै पक्ष विच एकरुपता नभएको बताउँदै कुनै बहानामा योजना नगर बाहीर जान नहुने बताए ।
बर्दघाटबासीका लागि मात्र नभएर देशकै गौरवको योजना भएकोले यसका लागि सबैले मिलेर काम गर्नुपर्ने उनको भनाई छ ।
नवलपुरकी बर्दघाट भन्ने दुबिधा सकियो – सामाजीक अगुवा यमबहादुर थापा
लामो समय देखी चिसापानी जग्गाको विषयमा लागिपर्दै आएका यमबहादुर थापा अहिले नगर प्रमुखकै टोलीमा काठमाण्डौमा रहेका छन् । उनले ट्रमा सेन्टर बर्दघाटबाट बाहिरिएर नवलपुर जान्छकी भन्ने दुविधा अन्त्य भएकोले
चिसापानीमै ट्रमा बन्ने गरी दुई तिन दिनमै टुंगो लाग्ने जानकारी दिए । राष्ट्रिय आवास संग जग्गा भाडामा लिने की अन्य उपाय अवलम्बन गर्ने भन्ने २÷३ वटा विकल्पमा छलफल भैरहेको उनको भनाई छ । अन्य विकल्प कस्तो हुने भन्ने बारेमा भने उनले केही खुलाएका छैनन् ।
राष्ट्रिय आवास संग जग्गा भाडामा लिईन्छ – नगर प्रमुख श्रेष्ठ
नगर प्रमुख श्रेष्ठले ट्रमा सेन्टर निर्माणका लागि अब अन्तिम चरणमा पुगेको बताएका छन् । जग्गाको अन्तिम टुंगो लगाउन र आवश्यक प्रकृयाहरु पुरा गर्नका लागि केहि दिन देखी काठमाण्डौमा रहेका उनले ट्रमा सेन्टर बर्दघाटमै बन्ने निश्चिम भएको बताउँदै जग्गाका लागि राष्ट्रिय आवास कम्पनी संग भाडामा लिने गरीनै टुंगोमा पुुगिने बताए ।
श्रेष्ठका अनुसार हाल चिसापानी अस्पताल रहेको ठाउँ देखी पश्चिम तर्फको जग्गामा ट्रमा सेन्टर बन्ने र अस्पताल रहेको जग्गाको लागि भने पुर्जा प्राप्ती गर्नका आवश्यक प्रकृया अपनाईने छ । जग्गा भाडामा लिने कार्यपालिकाको निर्णय कार्यान्वयन गरिने उनको भनाई छ ।
नगर प्रमुख श्रेष्ठले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बर्दघाट संचार क्लवले आयोजना गरेको कार्यक्रममा बोल्दै बैशाख २५ गते भित्र प्रकृया सुरु नभए गाह्रो हुने बताएका थिए । अहिले सम्म पनि अन्तिम टुंंगोमा भने पुग्न सकेको छैन ।
जग्गा लिजमा दिने बाहेक विकल्प छैन – योजना प्रमुख थापा
राष्ट्रिय आवास कम्पनी बर्दघाटका योजना प्रमुख महेन्द्र थापाले ट्रमा सेन्टरका लागि आवश्यक जग्गा लिजमा मात्र उपलब्ध गराउन सकिने बताएका छन् । थापाले यस अघि अस्पतालका लागि ८२ कठ्ठाको पुर्जा उपलब्ध गराउने मौखिक सहमती भए पनि अहिलेको परिस्थितिमा कुनैपनि हालतमा पुर्जा उपलब्ध गराउन नसकिने बताए । उनले जग्गाको प्रयोग बापत भाडा बुझाउने शर्तमा सम्झौता हुने बताए ।
चिसापानीमा रहेको सो जग्गा राष्ट्रिय आवास कम्पनीले विक्रिका लागि टेण्डर प्रकाशन गरे यता स्थानियले निरन्तर विरोध गर्दै आएका छन् । उनीहरुले जग्गा सार्बजनिक हुनुपर्ने माग गर्दै आएका छन् । हाल ट्रमाका लागि उपलब्ध गराउने जग्गा भने टेण्डर मार्फत विक्रि प्रकृया अगाडि बढेको जग्गा बाहेकको जग्गा रहेको थापाले जानकारी दिए ।