नवलपुरमा ३ दिन विविध कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइदै

गोविन्द नेपाली —
नवलपुर । पूर्वी नवलपरासीमा गणतन्त्र दिवस विविध कार्यक्रम सहित ३ दिन मनाइने भएको छ ।
गणतन्त्र दिवस आयोजक समिति नवलपुरको आयोजनामा आज पहिलो दिन विहान कावासोती २ को शिव सामुदायिक वनको बाल उद्यानमा विभिन्न प्रजातिका फुलहरुको वृक्षारोपण गरिएको छ ।
जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख सकुन्तला लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, डिभिजनल वन कार्यालय नवलपुरका प्रमुख मेघराज पौडेल, नेपाली सेना प्रमुख सेनानी दिपेन्द्र बोगटी लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी आज साँझ कावासोती दुबोर्ग खेल मैदानमा जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
त्यसैगरी गणतन्त्र दिवसको दिन जेठ १५ गते कावासोतीमा विहान प्रभाव फेरि गरिने भएको छ । कावासोतीको फलफुल चोक, जिल्ला प्रहरी कार्यालय अगाडिबाट विहान ७ बजे सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्था, राजनैतिक दल, नागरिक समाज, व्यापारी लगायतको उपस्थितिमा प्रभातफेरी सुरु गरि खानेपानीको सभाहलमा गणतन्त्र दिवशको शुभकामना आदानप्रदान गर्ने जनाइएको छ ।

त्यसैगरी मंगलबार साँझ सरकारी तथा गैर सरकारी कार्यालयमा सरसफाई गरि सम्पूर्ण कार्यालयमा दिपावली गर्ने, जेठ १६ गते बिहान जिल्ला रेडक्रसको समन्वय तथा आयोजनामा फलफुल चोकमा रक्तदान कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।