दुम्कौलीमा किन बढ्दै छ तापक्रम


रामकुमार श्रेष्ठ —



पूर्वी नवलपरासीको दुम्कौली र यसआसपास क्षेत्रमा तापक्रम उच्च छ । विगतका वर्ष जेठमा ३८ डिग्रीहाराहारी तापक्रम रहने गरेकामा यस वर्ष २५ जेठमा ४४.८ डिग्रीसम्म पुगेको छ । त्यसअघि चार दिन लगातार ४३.८ डिग्री मापन भएको थियो । शनिबार र आइतबारको तथ्यांक उपलब्ध हुन नसके पनि तापक्रम उच्च नै रहेको आकलन छ ।

विगतमा यो क्षेत्रको उच्चतम तापक्रम ५ जुन १९७९ मा ४३.७ डिग्री मापन भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले त्यस क्षेत्रमा हरेक दिन उच्च तापक्रम हुनुको खास कारण खुल्न नसके पनि बस्ती विस्तार र सहरीकरण हुन सक्ने बताउँछन् । ‘किन तापक्रम धेरै भएको हो भनेर त अध्ययन नै हुनुपर्छ, तर अहिले त्यहाँ बस्ती बाक्लो भएको हुन सक्छ,’ उनले भने ।




देवचुली नगरपालिका ३ मा रहेको साविकको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली रहेको यस क्षेत्र स्वास्थ्य चौकी सँगै रहेको चौधरी उद्योग ग्रामले यहाँ विस्तारै बस्ती बाक्लिदै गयो । पछिल्लो समय चौधरी उद्योगले नै सञ्चालनमा ल्याएको सिजी धामले पनि यहाँ मानिसको चाप बढेको छ ।

देवचुली नगर अस्पताल दुम्कौलीका निमित्त अस्पताल प्रमुख चित्रबहादुर सुनारका अनुसार सिजीमा काम गर्न बाहिरबाट आएका करिब ६ सय मजदुर यही आसपास क्षेत्र बसोृबास गरेका छन् । उनीहरुका परिवार सहित गर्दा यहाँ अहिले बस्ती बाक्लो भएको छ भने घर भाडामा बस्ने आएसँगै घर निर्माण हुने क्रम पनि बढेको छ । त्यसैगरी सिजीकै सिजी श्वास्वत धाम जसमा सिमेन्टका सामग्री र कंक्रिटको प्रयोगले पनि यस आसपासको तापक्रम बढेको हुन सक्ने सुनारको अनुमान छ ।

तस्वीरः पानी पार्न दुम्कौलीमा आइतबार गरिएको इन्द्र पूजा ।

देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीका अनुसार यस क्षेत्रमा जमिन भिज्ने गरी पानी नपरेको ९ महिना भन्दा बढी भयो । पानीको मुहान पनि खासै सुकेको छैन, जंगलमा अहिले डढेलो पनि छैन सायद लामो समयदेखि जमिन भिज्ने गरी पानी नपरेको कारण तापक्रम बढेको हुन सक्ने उपप्रमुख तिवारीको अनुमान छ । उनले भने – यहाँ यस्तो गर्मी मैले जन्मेदेखि आजसम्म महसुस गरेको थिएन । के भयो कुन्नी यस बर्ष प्रचण्ड गर्मी छ ।

कतिपय स्थानीय बासिन्दाहरुले पूर्वपश्चिम राजमार्ग निर्माणको क्रममा सडक लथालिंग रहेको र सवारी साधन हिड्दा उड्ने धुलोले पनि तापक्रम बढेको अनुमान लगाउने गरेका छन् ।

विद्यालय एक सातादेखि बन्द

बढ्दो गर्मीसँगै नवलपुरका तराई अर्थात भित्री मधेषको क्षेत्रका गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका साथै विनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकाका केही स्थानमा विगत १० दिनदेखि विद्यालय बन्द रहेका छन् । यहाँका विद्यालय जेठ १९ गतेदेखि बन्द गरिएको हो । यहाँका विद्यालय कम्तिमा अझै २ दिन अर्थात ३० गतेसम्म बन्द हुने छन् ।

दुम्कौलीमा इन्द्र पूजा

पूर्वी नवलपरासीको देवचुली नगरपालिका १ केउरानी दुम्कौलीमा हिन्दु धर्म अनुसार पानीका देउता मानिने इन्द्रको पूजा गरिएको छ । आइतबार यहाँ इन्द्रको पूजा गरिएको हो ।
अहिले नवलपुरका अधिकांश स्थानमा कतै इन्द्रको कतै भ्यागुताको कतै माइ थानको पुजा गर्न थालिएको छ । नवलपुरमा लामो समयदेखि पानी नपरे पछि यस्तो गर्न थालिएको छ ।

मकै र धानको विउ सुके

नवलपुरमा मकै र धानको विउ सुकेका छन् । असार पहिलोसातादेखि धान रोपाई शुरु हुने नवलपुरका कतिपय स्थानमा धारा र मटरको पानीले धानको विउ राखिएको भए पनि पानी पुर्याउन नसक्दा धानका विउ सकेका छन् ।

त्यसैगरी अहिले मकै फलेर स्याहार्ने बेला भईसकेको भए पनि मकै सुकेर भटाभट मर्न थालेका छन् ।



सम्बन्धित
Loading...