सनराइज बैंक कावासोतीद्वारा विद्यालयहरुमा प्याड एटिएम हस्तान्तरण
नवलपरासी, २१ असार । सनराइज बैंक लि. कावासोती शाखाले आज पूर्वी नवलपरासीको देवचुली नगरपालिका ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयलाई १ थान प्याड एटिएम हस्तान्तरण गरेको छ ।
विद्यालयका छात्रा र महिला शिक्षकका लागि लक्षित गरी विद्यालयलाई सेनेटरी प्याड झिक्न मिल्ने प्याड एटिएम हस्तान्तरण गरिएको सनराइज बैंक लि. कावासोती शाखा प्रमुख संजय अधिकारीले बताए । कार्यक्रममा बैंकका कावोसोती शाखाका कर्मचारी दिपराज निगम उनाइ, विवेक तिवारी, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष काशीनाथ पोखरेले लगायतको सहभागिता रहेको थियो ।
देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटिएम प्रदान गर्दै आएको छ ।
हाल विद्यालयमा महिला मैत्री शौचालय र सेनेटरी प्याडको व्यवस्था नहुँदा उनीहरु महिनावारीको अवधिमा विद्यालय जान हिचकिचाउने गर्दछन् । यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरुमा प्याड एटिएम मेसिन प्रदान गरेको संजय अधिकारीले जानकारी गराए ।
एउटा सिक्का हाल्दा एउटा आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरु तथा विद्यालयमा कार्यरत महिलाहरुलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सिर्जना हुने बैंकले बताएको छ ।
हाल बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।



