कावासोती नगरपालिकामा अब अनलाइनबाटै सबै कर भुक्तान गर्न मिल्ने
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले अब अनलाइनबाट सबै कर भुक्तान गर्न मिल्ने व्यवस्था गरेको छ ।
कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले विहीबार अनलाइनबाट आफ्नो सम्पति तथा भूमिकर तिरेर अनलाइनबाटै कर तिर्न मिल्ने व्यवस्था गरेको हो ।
त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष एवम् पत्रकार रामकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले पनि बुधबार सोही कार्यक्रममा अनलाइनबाट आफ्ना सम्पत्ति र भूमिकर भुक्तान गरेका थिए ।
नगरप्रमुखले अनलाइनबाटै कर भुक्तान प्रणालीको उद्घाटन गर्दै अब कावासोती नगरपालिका डिजिटल युगमा प्रवेश गरेको बताए ।
अहिले www.eservice.kawasotimun.gov.np लग इन गरेर इसेवा मार्फत घरबाटै सम्पति र भूमिकर तिर्न सकिन्छ भने अन्य करहरु नगरपालिका वा सम्बन्धित वडा कार्यालयमा गएर क्यूआर कोड मार्फत कर तिर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
घरबाट तिरिएको करको बिल करदाताको मेल ठेगानामा तुरुन्त आउने व्यवस्था समेत गरिएको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृतरुपेश गिरीका अनुसार सेवाग्राहीले आफ्नो करदाता पोर्टलमा लगइन गरी आफ्नो सम्पति विवरण एवंम करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्नेछन् ।
वडा कार्यालयमा क्यूआर कोड मार्फत रकम भुक्तान गर्नका लागि वडा सचिवहरुलाई शुक्रबारदेखि तालिम प्रदान गर्ने जनाएका छन् ।