कावासोतीमा नेकपा माओवादीको नाममा जग्गा कब्जा

नवलपुर । नेकपा माओवादीको नाममा नवलपुरमा जग्गा कब्जा गरेको छ ।
नेकपा माओवादी नवलपुर जिल्ला पार्टीको नामको ब्यानर र पोष्टर सहित जग्गा कब्जा गरेको हो ।
कावासोती १ खयरघारीमा विमला श्रेष्ठको नाममा रहेको कित्ता नं. १६ को जग्गा कब्जा गरेको उनीहरुले टाँगेको ब्यानर र घटना स्थलमा छाडिएको पर्चामा उल्लेख गरिएको छ ।
उनीहरुले स्थानीय बासिन्दालाई दुःख दिएर जग्गा विमला श्रेष्ठले आफ्नो नाममा ल्याएको, गुण्डागर्दी शैलीमा जनतालाई सधैं जनतालाई दुःख दिने गरेको, किर्ते गरी जग्गाको लालपूर्जा आफ्नो नाममा ल्याएकोले जग्गा कब्जा गरिएको जनाएको छ । ३/४ जनाको समूहमा आएका व्यक्तिहरुले जग्गामा ब्यानर र झण्डा गाडेर गएको स्थानीयले जनाएको छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले घटनाको अनुसन्धान भईरहेको र सोधपुछका लागि एक जना स्थानीयलाई नियन्त्रणमा लिएको जनाएको छ ।
