भुतले सिँचाइ कुलाे भत्काएपछि..

डाेल्पा २२ साउन –
डाेल्पामा भुतले सिँचाइ कुलाे भत्काएकाे भन्दै भुतकाे पुजा गरिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने मसानजाड देखि चुकेनीसम्मको पुरानाे कुलाे भुत रिसाएर भत्किएको भन्दै पुजा गरिएको हाे ।
बुढापाखाका अनुसार ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि देउताले भूत रिसाएको र पुजाआजा गरेर शान्त बनाउन भनेपछि त्रिपुराकोटका सम्पूर्ण स्थानीयले भूतकाे पूजा गरेका हुन् ।
भत्केकाे कुलाकाे माथिल्लो भागमा स्थानीय ८३ वर्षीय धनप्रसाद हमाल र तल्लो भागमा ८६ वर्षीय रविप्रसाद न्यौपानेको हातबाट पूजाआजा गरिएको हो ।
विस २००२ मा पनि कुलो बनाउनेक्रममा मसानजाड भूत रिसाएर नवनिर्मित कुलो भत्काउनेगरेको र देवीदेवताको भने अनुसार बोका, भालेसहित ध्वजापतका चढाएर पुजा गरेदेखि हालसम्म कुनै क्षति नभएको स्थानीय बयोबृद्ध धनप्रसाद हमालले बताए ।
आव २०७९/८० को खानेपानी सिंचाइँ तथा उर्जा विकास कार्यालय डोल्पाको मातहतमा निर्माण उपभोक्ताले नयाँ कुलो निर्माण गर्नेक्रममा भूतपूजा नगरेकाले पटक पटक गरेर तीन पटक पक्की कुलो भत्केपछि स्थानीय धामाघाडी देवताले भूत रिसाएको र शान्तिपूजा नगरेसम्म कुलो बलियो नहुने भनेपछि स्थानीयले ७८ बर्षपछि दोस्रो पटक भुतकाे पूजा गरिएको टिकादत्त न्यौपानेले बताए ।
भूतपूजा गरेपछि नवनिर्मित सेजकुलो बलियो भई सिंचाइँ सुविधा सहज हुने अपेक्षा स्थानीयले गरेका छन् ।