चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

पोष्टराज अधिकारी-
मकवानपुर – ७ भदौ । मकवानपुर र बाराको सिमा नजिक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाईमा बिहीबार बिहान १ बजेतिर तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
प्रहरी उपरीक्षक रिजालका अनुसार मृत्यु हुनेमा भारतको राजस्थानका ६७ बर्षका बहादुर सिं, सोही स्थानकी ६५ बर्षीय मिरा देबी, बैजन्ती देवी, श्रीकान्त चतुरवेदी, सत्यवती र राजेन्द्र चतुरवेदी रहेका छन् ।
यस्तै नेपालको महोत्तरी जिल्लाको लोहार पटी नगरपालिकाका ४१ बर्षका बिजय लाल पण्डितको पनि मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १७ जनामध्ये तीनजनाको अवस्था गम्भिर रहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।
उनका अनुसार घाईते एकजनालाई थप उपचारका लागी चितवनको भरतपुर पठाइएको छ । यस्तै एकजनाको हेटौँडा स्थित चुरेहिल अस्पताल, एकजना सन्चो अस्पताल र बाँकी १४ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आफै अनियन्त्रित भई चुरियामाई भन्दा अन्दाजी एकसय मिटर दक्षिणमा बाटोबाट दश पन्ध्र मिटर तल खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
दुर्घटना भएको बसमा २७ जना यात्रु रहेको इलाका प्रहरी कार्यलय सिमराका डीएसपी क्षेत्रीको भनाई छ ।
दुर्घटनापछि फरार रहेका बसका चालकलाई नियन्त्रणमा लिएको डिएसपी क्षेत्रीले बताएका ।