बलान नदीको बाँध भत्कियो, बाढी बस्ती पस्दा सयभन्दा बढी घर डुबानमा




सप्तरीको बलान विहुल गाउँपालिका– ४ वेल्ही नवकाटोलस्थित बलान नदीको बाँध भत्किएको छ । निरन्तरको वर्षासँगै नदीमा आएको बाढीले बाँध भत्किएको हो ।

स्थानीय विश्वनाथ यादवका अनुसार बाँध भत्काएर नदीको बाढी बस्तीमा पसेको छ । सो टोलका एक सयभन्दा बढी घर डुबानमा परेको उनले जानकारी दिए । नदीको बाँध तीन ठाउँमा भत्किएपछि बाढी बस्ती पसेको हो । बाढीले जनजीवन प्रभावित बनाएको छ ।




दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएको जानकारी दिएका यादवले गुणस्तरीय बाँध नबनाउँदा वर्षेनि यसक्षेत्रका नागरिकको जनजीवन प्रभावित हुने गरेको बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढी पसेका बस्तीका नागरिकको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको जानकारी दिए ।

‘बाँध भत्किएपछि बाढीले थप क्षति नगरोस् भनेर सशस्त्र र नेपाल प्रहरीको टोली खटाएका छौँ, स्थलगत निरीक्षण पनि गरेका छौँ,’ प्रजिअ थापाले भने ।



सम्बन्धित
Loading...