नेकपा (माओवादी केन्द्र) को ३ महिने अभियान मध्यविन्दुमा शुरु
चोरमारा । नेकपा (माओवादी केन्द्र) ले शुरु गरेको तिन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियान शनिबारदेखि मध्यविन्दु नगरपालिकामा शुरु भएको छ ।
माओवादीले देशभर एकै साथ शुरु गरेको अभियान अन्तर्गत मध्यविन्दु नगरपालिकाको चोरमारा र अरुणखोला केन्द्रमा अभियानको शुरुवात गरिएको हो ।
चोरमारामा भएको अभियानको शुभारम्भ कार्यक्रमको अवसरमा चोरमारा बजारको उत्तर तर्फ रहेको पार्कको सरसफाई गरिएको थियो ।
अरुणखोलामा उक्त क्षेत्रका ५ वटा वडाका कार्यकर्ताहरुको केन्द्रीकरण गर्दै अभियानको शुभारम्भ गरियो । अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रविधिको माध्यमबाट देशभर एकै साथ उद्घाटन गर्नु भएको हो ।
चोरमारामा भएको अभियानको शुभारम्भ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रकाश न्यौपाने (किरण)ले जनताका समस्या र सरोकारका विषयहरूलाई गम्भीरता पूर्वक समाधान गर्दै सुशासन, समृद्धि र विकाशको कार्यभार पुरा गर्न तर्फ सबै पार्टी पंक्ति परिचालित हुनुपर्ने बताउनुभयो ।
पार्टी नगर कमिटी अध्यक्ष हरि पाण्डेको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रमको सञ्चालन अनन्त अधिकारीले गर्नु भएको थियो ।








