पूर्व राजा ज्ञानेन्द्र शाह अझै पनि राजतन्त्र फर्काउन सलबलाउँदैः नेता खनाल

नवलपरासी । नेकपा एकीकृत समाजवादीका सम्मानित तेवा एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजतन्त्र फर्काउने आशमा राजावादीहरु अझै पनि सलबलाई रहेको बताएका छन् ।
खनालले नेपालमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि भनेर पूर्व राजा ज्ञानेन्द्र शाहले दाउ हेरिरहेको बताए । राजतन्त्र फर्कने आशमा पूर्व राजा शाह विभिन्न मठमन्दिर घुम्ने, धार्मिक सभाहरु गर्दै हिड्ने काम गरेको नेता खनालको भनाइ छ ।
पार्टीको मेचि–महाकाली जागरण अभियान तथा संगठन विस्तार कार्यक्रमलाई नवलपुरको कावासोतीमा सम्बोधन गर्दै नेता खनालले विगतको राजतन्त्र इतिहासको कठघरामा पुगेर भासिएको भन्दै अव त्यस्तो कल्पना गर्नु वेकार हुने बताए ।

उनले अहिलेको शासन व्यवस्थाले गरिब झनझन गरिब र धनीहरु दिनदिनै धनी हुँदै जाँदा शासन व्यवस्थामा असन्तुलन देखिएको भन्दै त्यसलाई समाधान गर्न समाजवादको लक्ष्यमा पुग्न आफ्नो पार्टीले अग्रसरता लिएको बताए ।
नेता खनालले नेकपा एकीकृत समाजवादीले अग्रगमनको एजेन्डा सेट गरिसकेको भन्दै राज्यलाई सहि बाटोमा ल्याउन र राष्ट्रको एजेन्डा बनाउन अभियान सञ्चालन गरेको बताए । देशमा देखिएका धेरै समस्याको जड बेरोजगारी भएको भन्दै खनालले सबै मिलेर वेरोजगारी समस्या समाधान गर्नु पर्ने बताए ।
कार्यक्रमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अर्थमा विकास भनेको भ्यू टावर र प्रशान्त महासागरमा पानी जहाज कुदाउनु मात्र भएको भन्दै एमाले पार्टीको अग्रसरतामा विकास सम्भव नहुने दाबी गरे ।
उनले एमाले पार्टी बालकोटको पाले भइसकेको टिप्पणी गरे । ‘ओलीको चाहनाविरुद्ध एमालेमा कसैलाई बोल्न दिइन्न, कसैले बोल्ने आँट गर्यो भने टिक्न दिइन्न, भुसालले भने, ‘कसैले आवाज उठाए ठुगिन्छ र निकालिन्छ त्यसैले एमाले पार्टी बालकोटको पाले भइसक्यो ।’
ओलीले बुहमतको कदर नगरी असंवैधानिक ढंगले संसद विघटन गरेका कारण देशको अवस्था बिग्रेको र झनझन बिग्रदै गएको भन्दै ओलीले भाँचेर ध्वस्त बनाएको बाम बगैचामा फेरी फूल फुलाउन आफ्नो पार्टीले अग्रसरता लिएको भुसालले बताए ।
