युएईमाथि नेपालको सहज जित




टी–२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि सात विकेटको सहज जित निकालेको छ ।

पहिले ब्याटिङ गरेको युएईले दिएको एक सय ४१ रनको मध्यम लक्ष्य नेपालले सात बल बाँकी रहँदै तीन विकेटको क्षतिमा पूरा गर्‍याे ।




ad
कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेले भने दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाएर उनलाई साथ दिए । दुवै अविजित रहे ।

केवल ५१ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाएपछि दबाबमा आएको नेपाललाई यी दुई खेलाडीले जितसम्म डोर्‍याएका हुन् । यसक्रममा रोहित र दीपेन्द्रले ९३ रनको साझेदारी गरे ।

रोहितले अन्तिम बलमा चौका प्रहार गर्दै आफ्नो करिअरको चौथो टी–२० अर्धशकत पूरा गरे । ४० बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे ।

२३ बल मात्र खेलेर ३४ रन बनाएका दीपेन्द्रले एक छक्का र तीन चौका हिर्काए । त्यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा विस्फोटक ब्याटर कुशल मल्ललाई सस्तैमा गुमाएपछि नेपाल दबाबमा आएको थियो ।

आसिफ शेखसँगको असमझदारीका कारण कुशल मल्ल दुर्भाग्यपूर्ण रूपमा रनआउट हुन पुगेका थिए । रनआउट हुनुअघि उनले दुई चौकाको मद्दतमा नौ बलमा ११ रन बनाएका थिए ।

कुशल आउट भएलगत्तै ठूलो सट प्रहार गर्ने क्रममा आसिफ पनि आउट हुन पुगे । उनले आउट हुनुअघि २७ बलमा २३ रन बनाएका थिए । आसिफले दुई चौका र एक छक्का प्रहार गरे ।

यस्तै, अर्का ओपनर कुशल भुर्तेलले १४ रन बनाए । १४ बल सामना गरेका उनी निलान्स केस्वानीको स्पिन बलमा ठूलो सट प्रहार गर्ने कोसिस गर्दा अली नासिरको हातबाट आउट हुन पुगे ।

मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो ।

युएईलाई मध्यम लक्ष्यमा रोक्न करण केसीले तीन तथा गुल्सन झाले दुई विकेट लिए ।

युएईका लागि बसिल अलअब्दुल हमिदले सर्वाधिक ५१ रन बनाए । ३८ बलको सामना गरेका उनले चार छक्का र एक चौका प्रहार गरे । यो उनको करिअरको पहिलो अर्धशतक हो ।

यस्तै, अली नासिरले ३० बलमा ३२, कप्तान मोहम्मद वसिमले १७ तथा आसिफ खानले १५ रनको योगदान दिए ।

एक समय ५२ रनमा चार विकेट गुमाइसकेको युएईलाई फाइटिङ टोटलसम्म पुर्‍याउन बसिल र अलीको महत्वपूर्ण भूमिका रह्यो । यी दुईले अर्धशतकीय साझेदारी गरेपछि युएईले ब्याटिङमा कमब्याक गरेको हो ।

नेपालको बलिङ स्पेलमा करण केसी सबैभन्दा सफल साबित भए । चार ओभर बलिङ गरेका उनले तीन विकेट लिए । यस्तै, गुल्सन झाले दुई विकेट र सोमपाल कामी तथा अविनाश बोहोराले एक–एक विकेट लिए ।

नेपालका लागि सोमपालले पहिलो ओभरमै सफलता दिलाएका थिए । त्यसपछि भने उनी केही महँगो साबित भए । यस्तै, गुल्सनले युएईका सबैभन्दा डरलाग्दा विस्फोटक ब्याटर कप्तान मोहम्मद वसिमलाई सिकार बनाए ।

आजको म्याचबाट स्पिनर मौसम ढकालले टी–२० मा डेब्यु गरे । दुई ओभर बलिङ गरेका उनले कुनै विकेट भने लिएनन् ।



सम्बन्धित
Loading...