नवलपुरमा ट्राफिक जाँचमा कडाई, पाँच दिनमा मापसे गर्ने ८७ जना कारवाहीमा

रामकुमार श्रेष्ठ —
नवलपुर । नवलपुरमा ट्रफिक प्रहरीले चेकजाँचलाई तिब्र पारेको छ । दशै, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी प्रहरीले चेकजाँचलाई तिब्रता दिएको हो ।
ट्राफिक प्रहरीले ग्रामिण क्षेत्रलाई लक्षित गरी गरेको चेकजाँचमा पछिल्लो पाँच दिनमा मात्रै मापसे गर्ने ८७ जनालाई कारवाही गरेको छ । चाडपर्वमा मापसे गरेर सवारी चलाउने बढी हुने भएकोले ग्रामिण क्षेत्रमा पनि चेकजाँच बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरिक्षक अच्युतराज आचार्यले बताए ।
पहिलो पटक मापसे गरी सवारी साधन चलाउनेलाई एक हजार रुपियाँ र दोस्रो पटक कारवाहीमा पर्नेलाई दुई हजार रुपियाँ जरिवाना गर्ने गरिएको छ । यसले राजश्वक संकलन पनि बढेको प्रहरीको भनाई छ ।
‘सुरक्षित सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी, सवारी दुर्घटना न्यूनकिरणका लागि गाउँ गाउँमा ट्राफिक प्रहरी’ भन्ने मूल नाकाका साथ प्रहरीले अभियानलाई तिब्रता दिएको उनले बताए ।
आचार्यका अनुसार ग्रामिण क्षेत्रलाई विशेष लक्षित गरी सचेतनामूलक कार्यक्रम पनि गरिइरहेको छ । चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गरेर चलाउने ३ सय ८५ जना कारवाहीमा परेका छन् ।
त्यसैगरी दशैंमा यात्रुलाई सहायता होस भनेर गैडाकोट, दलदले, कावासोतीको फलफूल चोक, डण्डा र दुम्किबासमा गरी जिल्लाका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्लाको पहाडी क्षेत्र मुण्डेदेखि डेढगाउँ जाने बाटो र गैडाकोटदेखि बुलिङटार जाने बाटोमा सिट क्षमता भन्दा बढी यात्रु राखेर चलाउने गरेको पाइएकोले यस क्षेत्रमा नियमित चेकजाँच गरिएको छ भने रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ ।
अहिले यात्रुको चाप बढी हुने हुँदा छतमा झुण्डिएर यात्रा गराउने गरेको बढी पाइएको उनले बताए ।