भूकम्प अपडेट : रुकुम पश्चिममा २७ जनाको मृत्यु, ५३ जना घाइते

शुक्रवार राति गएको भूकम्पमा परी रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको भएको छ । अहिलेसम्म २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार आठबीसकोट नगरपालिकामा १८ जना र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण संकलन भइरहेको उनले जानकारी दिए । मृत्यु हुनेमा १२ महिला र १५ जना पुरुष रहेका छन् ।
मृत्यु हुनेमा आठबीसकोट नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय रमेश पुन, सोही वडाका १३ वर्षीय डिलबहादुर केसी, वडा नम्बर १४ का ३ वर्षीय वासु बुढा, सोही ठाउँकै ३० वर्षीया अमृता जैसी, ५ वर्षीया भावना जैसी, २ वर्षीय दिनेश जैसी, वडा नम्बर १४ कै १२ वर्षीया सरिता बिक, वडा नम्बर १४ कै १३ वर्षीय मदन गौतम, सोही वडाकै ८३ वर्षीय करे नेपाली रहेका छन् ।
यसैगरी वडा नम्बर ११ गोइरीका ३५ वर्षीया शिला कामी, १३ वर्षीया सृजना कामी, ९ वर्षीया रिया कामी, ६ वर्षीया दीपा कामी, ४ वर्षीया आशा कामी, १८ वर्षीया एलिशा कामीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै रुकुमपूर्व घर भई आठबीसकोट नगरपालिका १४ वस्ने ३० वर्षीय किस्मत पुनमगर, बर्दिया घर भई कामको सिलसिलामा वडा नम्बर १४ छेपारे आएका ४७ वर्षीय खड्क बिक र बर्दियाकै ३६ वर्षीय अनिल बिकको पनि ज्यान गएको प्रहरीको भनाई छ ।
यता सानीभेरी गाउँपालिका वडा नम्बर २ परियार टोलकी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाइनाबगर ३१ वर्षीय धनविर पुन, सोही ठाउँकै २८ वर्षीया चुम्निमा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिने रेजन ओली, वडा नम्बर ४ का ८ वर्षीय निर्जल चन्द, सोही ठाउँकै २५ वर्षीया सकुन्तला दमाई र ६ वर्षीय कृष्ण परियार रहेको प्रहरीले जनाएको छ ।
यसैगरी भूकम्पमा परी ५३ जना घाइते भएको प्रहरीले जनाएको छ । जसमा महिला २६ र पुरुष २७ जना रहेका प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेकोले एकिनका साथ भन्न सक्ने अवस्था छैन ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।
स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् ।
उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गरेका छन् । साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने प्रबन्ध गर्न पनि अनुरोध गरेका छन् । सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतको स्वास्थ्य लाभको कामना गरेका छन् ।