कावासोतीमा नेपाल सम्वत् ११४४ भव्य रुपमा मनाइने

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको नेवार समुदायले नेपाल सम्वत् ११४४ कावासोतीमा विविध कार्यक्रम गरी मनाउने भएको छ ।
नेवाः देय दबु कावासोती नगरसमितिको आयोजनामा कावासोतीमा रहेको नेवार समुदायको अगुवाहरुको आज कावासोतीमा बसेको वैठकले कात्तिक २८ गतेका दिन परेको नयाँ बर्ष नेपाल सम्वत ११४४ र्याली सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेर मनाउने भएको छ ।
नेवाः देय दबु कावासोतीका अध्यक्ष अमृत श्रेष्ठका अनुसार त्रिभुवनटारबाट र्याली शुरु गरेर गोछडा, शेरगञ्ज, मगरकोट, फलफूल चोक, विष्णुनगर, भाटटोला, नमुना सदरमुकाम स्थल, डण्डाबाट पुन त्रिभुवनटारमा पुगेर सकिने छ ।
त्रिभुवनटारमा सोही दिने शुभकामना आदानप्रदान समेत गरिने छ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् न्हूदँया भिन्तुना नयाँ वर्षको शुभकामना आदान प्रदान गरी जातीय एकता र पुर्ख्रयौली साझा मौलिक संस्कृतिका रूपमा विकास भएको म्ह पूजालाई आफ्नो(आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रूपमा मनाइन्छ । विशेषतः नेवार समुदायले मान्ने यो संवत् नेपालको मौलिक संवत् पनि हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाः
राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको संवत् नै नेपाल संवत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्याली निकालिन्छ । नेपाल संवत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ । १२ वटा औंसीको एकवर्ष मापन गरिएको यस संवतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सवंतमा ३५४ दिनको एक वर्ष पर्न जान्छ । नेपाल संवत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । आधिकारिक रूपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस संवतलाई नेपाल सरकारले पनि आधिकारिक मान्यता दिएको छ । नेवारी समुदायमा भने यस संवतको व्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।सबैमा नेपाल संवत् ११४४ को कछला महिनामा स्वागत छ ।