कावासाेतीमा २ लाख पुरस्कार राशीकाे राष्ट्रिय स्तरकाे जिएम कप भलिबल प्रतियाेगिता हुने
रामकुमार श्रेष्ठ –
कावासाेती – पूर्वी नवलपरासीकाे कावासाेतीमा जिएम कप भलिबल प्रतियाेगिता हुने भएकाे छ ।
जिएम समाज कावासाेतीकाे आयोजनामा कावासाेतीमा माघ ९ गतेदेखि १३ गतेसम्म राष्ट्रिय स्तरकाे भलिबल प्रतियाेगिता हुने भएकाे हाे ।
जिएम समाज कावासाेती नवलपुरले आज कावासाेतीमा पत्रकार सम्मेलनकाे आयोजना गरि कार्यक्रमकाे बारेमा जानकारी दिएकाे हाे ।
प्रतियाेगितामा विभागीय टिमहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै गण्डकी प्रदेश र आयोजक सहित ५ वटा समूहकाे सहभागिता रहने जिएम समाज कावासाेतीका अध्यक्ष जितबहादुर आले मगरले बताए ।
प्रतियाेगिता लिग चरण अन्तरगत खेलाईने छ । प्रतियाेगितामा प्रथम हुनेले नगद २ लाख, द्वितीय हुनेले १ लाख, तृतीय हुनेले ५० हजार र चाैथाे हुनेले २५ हजार पुरस्कार पाउने जिएम समाज कावासाेतीका सचिव धिरेन्द्र प्रताप गाहाले बताए । पुरस्कारकाे सम्पूर्ण रकम अर्थात ३ लाख ७५ हजार युवा व्यवसायी गैडाकाेट ३ निवासी विरेन्द्र थापाले सहयाेग गरेका छन् ।
यसैबीच पत्रकार सम्मेलनसँगै आज नै जिएम समाज कावासाेती नवलपुरले खेलाडीहरूलाइ सम्मान पनि गरेकाे छ ।
रूपन्देहीमा भएकाे स्व. दुण्डी थरूनी स्मृति कप प्रतियाेगितामा नवलपुर भलिबल संघकाे तर्फबाट सहभागी भई प्रथम भएर आएका जिएम समाज कावासाेतीका खेलाडीहरूलाई सम्मान गरिएकाे थियाे ।
दव गाहा मगरकाे सञ्चालनमा भएकाे सम्मान कार्यक्रममा कावासाेती ८ का वडाध्यक्ष गाेकर्ण रिमाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन, मगर संघका केन्द्रीय सदस्य ईन्द्रफाल मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।








