सदभाव सयपत्री सेभेन ए साईड फुटबलको आइतबारको खेलमा कावासोती र देवचुली विजयी

नवलपुर, मंसिर २४ । नवलपुरको कावासोती १६ सयपत्री खेल मैदानमा सयपत्री युवा क्लबको आयोजनामा जारी दोस्रो सद्भाव सयपत्री सेभेन ए साइड फुटबल प्रतियोगिताको आज भएको खेलमा बिग ड्याडी कावासोती र देवचुली रेन्जर्स विजयी भएको छ ।
आइतबार पहिलो खेलमा बिग ड्याडी कावासोतीले रातो डाँडा एमएमएफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
यस्तै आज अर्को खेलमा भानु युथ ऐकेडेमी र देवचुली रेन्जर्सबीच हुने भनिए पनि भानु युथ ऐकेडेमीको उपस्थिति नभए पछि देवचुली रेन्जर्सलाई विजयी घोषणा गरिएको थियो ।
खेल नवलपुरको कावासोती नगरपालिका १६ वडा कार्यालय नजिकको सयपत्री खेल मैदानमा भएको हो ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र पाउने छ भने दोस्रो हुने समूहले ३० हजार १ रुपैयाँ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र पाउने छन् ।
त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कावासोतीमा रहेको सदभाव एजुकेशनले प्रयोजन गरेको प्रतियोगिताको सहयोगी संस्था कावासोती अस्पताल रहेको छ ।
प्रतियोगितामा सोमबार २ बजे पहिलो खेल टाईगर युवा क्लब र सूर्योदय युवा क्लब बीच र दोस्रो खेल ३ बजे डि बोईज र शिवमन्दिर फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।