रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो, युक्रेनी जेलमा ४ नेपाली रहेको पुष्टि


काठमाडौँ । रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने नेपालीको संख्या ७ पुगेको हो ।



परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जनाएको छ । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरेको जनाएको छ ।

यस्तै नेपाल मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई आग्रह गरेको छ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा रुसी सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन मन्त्रालयले अडान राखेको छ ।




मन्त्रालयले भनेको छ, ‘साथै, सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएकोमा सो व्यवस्थालाई विस्तार गरी भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स, साउदी अरबिया, कुवेत, कतार र बहराइनबाट समेत रुस यात्रा गर्नु परेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरूबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नु हुन सर्वसाधारण सबैमा यो मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

युक्रेनी जेलमा ४ नेपाली रहेको पुष्टि

युक्रेनी जेलमा ४ नेपाली रहेको सरकारले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो ।

युक्रेनी जेलमा रहनेमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेका छन् ।

सरकारले युक्रेनमा बन्दी बनाइएका यी चार जना नेपालीलाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरेको छ । यस्तै उनीहरुको रिहाइ र नेपाल फिर्तीको लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरू माध्यमबाट पनि कूटनीतिक पहल गरिएको मन्त्रालयले जनाएको छ ।



सम्बन्धित
Loading...