शिक्षावोधनी माविमा सुविधासम्पन्न १२ कोठे भवनको निर्माण कार्य तीव्र




नवलपुरको हुप्सेकोट ४ शँखदेव स्थित शिक्षावोधनी माध्यमिक विद्यालयमा सुविधासम्पन्न १२ कोठे भवनको निर्माण कार्य तीव्र रुपमा अघि वढिरहेको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको मेजर प्रोजेक्ट अन्तर्गत करिव ३ करोड रुपैयाँ आर्थिक सहयोगमा भवनको निर्माण कार्य भै रहेको हो ।

गत असोज महिनाको २० गतेदेखि निर्माण थालनी भएको उक्त भवनको करिव २५ प्रतिशत कार्य सम्पन्न भैसकेको प्रोजेक्ट सुपरभाइजर सन्तोष राईले जानकारी दिनुभएको छ । एक पुस्तकालय र एक विज्ञान प्रयोगशाला सहितको भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिने राईले वताउनुभयोे ।




सुविधासम्पन्न भवनको प्रोजेक्ट आफ्नो विद्यालयमा परेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेल वहादुर मश्राङ्गीले खुशी व्यक्त गर्नुभयो । विद्यालयको भौतिक आवश्यकता हाललाई पुरा भएको र शैक्षिक गुणस्तर अभिवृद्धि गराउने अवको आफ्नो योजना रहेको मश्राङ्गीले सुनाउनुभयो । निर्माणाधीन भवनमा छात्रावास समेत राखिने अध्यक्ष मश्राङ्गीले वताउनुभयो । टाढा र विकट गाउँका विद्यार्थीहरु पनि अध्ययनरत यस विद्यालयमा छात्रावास अपरिहार्य रहेको वहाँको भनाइ छ ।

शान्त र हरियाली वातावरणमा अवस्थित यस विद्यालयमा एक वर्ष अघिमात्र प्लस टु का कक्षा पनि सञ्चालनमा आएको छ । अधिकाँश मगर समुदायका विद्यार्थीहरुले अध्ययन गर्ने यस विद्यालयमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको मेजर प्रोजेक्टको भवन पर्दा स्थानीयहरु हर्षित भएका छन् । कक्षा १० को अध्ययन पछि उच्च शिक्षाका लागि गाउँ वाहिर जानुपर्ने वाध्यतालाई मध्यनजर गरी विद्यालयमा प्लस टु कक्षा सञ्चालन गरिएको विद्यालय स्रोतले जनाएको छ । भवन वनिसकेपछि प्लस टु का कक्षा सञ्चालन गर्न अझ सहज हुने विद्यालयका शिक्षक नलराज पाण्डेको भनाइ छ ।

हाल विद्यार्थी सँख्या र शैक्षिक गुणस्तर सन्तोषजनक भएको भएता पनि आगामी दिनमा विद्यालयले विद्यार्थी सँख्या वृद्धि र गुणस्तरलाई सँगसँगै जोड दिएर जानुपर्ने आवश्यकता रहेको शिक्षक पाण्डेले वताउनुभयो । वन्दै गरेको सुविधासम्पन्न भवनका कारण पनि विद्यार्थीहरु आकर्षित हुने वहाँले आशा व्यक्त गर्नुभयो ।

हाल यस विद्यालयमा शँखदेव र आसपासका कुटे , झाँते , धौवादी , पोखरी, रुम्सी लगायतका गाउँवाट आएका विद्यार्थीहरु अध्ययनरत छन् । आगामी जेठ महिना भित्र भवनको निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अझै तीव्र गतिमा अघि वढाइने प्रोजेक्ट सुपरभाइजर सन्तोष राई वताउनुहुन्छ ।



सम्बन्धित
Loading...