स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको दुई जना पक्राउ




मुगुको सोरु गाउँपालिका–९, खनायॉ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयमा पीडितले ३ जनाविरुद्ध दिएको उजुरीका आधारमा २ जनालाई नियन्त्रणमा लिइएको हो ।

जाहेरीमा नाम उल्लेख एक जना भने पक्राउ गर्न बाँकी छ ।
पक्राउ परेका सोरु गाउँपालिका वडा नम्बर ९ की ५४ वर्षीय झ्यापु शाही, र सोही पालिकाको वडा नम्बर ६ का धनप्रसाद भट् लाइ शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी गराउनु भयो । स्थायी घर दाङ भएकी अनमी तुलसाकुमारी बिक गत वर्ष माघदेखि खनायाँ स्वास्थ्यचौकीमा कार्यरत छिन्।




उनी स्वास्थ्य चौकीका इन्चार्ज सुरज कुमार शाहीकै घरमा डेरा लिएर बसेकी थिइन्। तर गत वैशाखमा जात थाहा पाएपछि उनकी आमाले डेरा सर्न दबाब दिएको आरोप अनमी विकको छ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय विभेद गरेको ठहरिएमा पीडकलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ। सार्वजनिक पदमा बसेका व्यक्तिलाई यसमा ५० प्रतिशत थप सजाय हुनेछ।



सम्बन्धित
Loading...