बर्दघाटमा बन्दै गरेको रमेश टायल उद्योगमा फलामको ट्रस्ट ढल्दा छ जना घाइते
नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं–१२, भटौलियामा बुधबार बेलुकी ४ः३० बजे बन्दै गरेको कजरिया रमेश टायल उद्योगमा बन्दै गरेको ट्रष्ट ढल्दा ६ जना मजदुर घाइते भएका छन् ।
मेशिनद्वारा फलामको पोल जोड्दै काम गर्ने क्रममा फलामको पोल अचानक ढल्न गई जस्ता पाता ठोक्न राखेको स्टिल समेत खस्न गई छ जना घाइते भएका छन् ।
घटनामा बर्दघाट–१२ का ३३ वर्षीय कमलेश हरिजन, वीरगन्ज बस्ने २१ वर्षीय अमरेन्द्रप्रसाद साह, रौतहटको विजयपुर–१ २२ वर्षीय राजेशकुमार रजक, भारतको मुजफरनगर छपहारका १८ वर्षीय मोहम्मद सहिक, सोही ठाउँका २३ वर्षीय मोहम्मद सादिक र भारत रक्सौलका २२ वर्षीय सिकन्दर भारती घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक भीमबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरुको तत्काल उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।