चितवनमा बोरामा फ्याँकिएको दुई शवको पहिचान, भतिजसँगै थियो अवैध सम्बन्धका कारण हत्या




चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई शवको पहिचान भएको छ । उनीहरुको शवको पहिचानसँगै हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको खुलासा भएको छ । गत मंसिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव फेला परेको थियो ।

लामो समय मृतकको पहिचान नै हुन नसकेकोमा केन्द्रीय अनुसन्धान ब्युरोले अन्ततः मृतकको पहिचान गर्दै प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्यामा महिलाका पति संलग्न भएको पत्ता लगाएको हो ।




ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मृतकहरू भारत मोतिहारी फूलबारिया सुगौली निवासी १९ वर्षीय ऋषभकुमार कुशवाहा र सोही स्थानको सुगांव डीह निवासी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी रहेका छन् । उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको अधिकारीको भनाई छ ।

मृतकहरू नेपालमा तरकारी, फलफूल व्यापारका लागि पटक–पटक आउने गरेका थिए । उनीहरू अन्तिम पटक दशैंपछि नेपाल आएर चितवनको मिलचोकमा कोठा लिएर बस्न थालेका थिए । दुई जनाबीच सम्बन्ध रहेको शंका गर्दै अस्मिताका श्रीमान भगतले उनीहरूसँग झगडा समेत गरेको प्रहरीको भनाई छ ।

यसको रिसमा मंसिर २ गते भगतले दुई जनालाई उनीहरूकै कोठामा हत्या गरेका थिए । त्यसपछि दुईवटा शवलाई जुटको बोरामा बन्द गरी ३ गते राति साइकलमा राखेर कल्भर्टमा फालेका थिए । यो कुरा सीसीटिभी फुटेजमा पनि कैद भएको प्रहरीको भनाई छ ।

प्रहरीले सार्वजनिक गरेको मृतकको स्केच । फाइल तस्बिर

घटनापछि भगत सुटुक्क भारत फर्किएका थिए । प्रहरीले उनको खोजी गर्न भारतीय प्रहरीसँग समन्वय गर्दा उनीमाथि अपहरण र व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता भई पुस १६ गते पक्राउ परेको पत्ता लागेको थियो ।

भगत हाल भारतको केन्द्रीय कारागार मोतिहारीमा रहेको र भारतीय प्रहरीले समन्वयमा उनीसँग सोधपुछ गर्दा उनले नेपाल आएर भतिज नाता पर्ने कुशवाह र पत्नी अस्मिताको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।



सम्बन्धित
Loading...