यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप रामबहादुर बमजन पक्राउ

तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
आज उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको सिआइबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।
‘केही समयअघि उनी त्यहाँ छन् भन्ने सूचना प्राप्त भएको थियो। हामीले निगरानी बढाएका थियौं। आज पक्राउ गरेर ल्याइएको छ’, उनले भनिन्।
उनीमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए। आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो। तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको थियो।
उनीविरूद्ध गंगामायाले बलात्कारको जाहेरी दिएकी थिइन्। सर्लाही जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन छ।
बमजनले आफ्नो विभिन्न आश्रममा हत्या, हिंसाको दुष्चक्र चलाएको विवरणहरू सेतोपाटीले प्रकाशन गरेको थियो। त्यसपछि उनीमाथि आश्रममा बस्ने युवती र युवकहरू बेपत्ता पारेको भन्दै उजुरी परेका थिए।
बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ ।
सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।