ईपीएस भाषा परीक्षाः डेढ दशकमा १ लाख १० हजारभन्दा बढी नेपाली पुगे कोरिया

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर नेपालीहरू दक्षिण कोरिया जान्छन् । सन् २००८ देखि कोरियाले कोरियन भाषा परीक्षा मार्फत नेपालीहरूलाई कामका लागि लग्दै आएको छ ।
पछिल्लो समय कोरिया नेपाली श्रमिकहरूको प्रमुख रोजाइमा पर्दै आएको छ । त्यसका लागि नेपालमा भाषा परीक्षाको कक्षा सिक्छन् । भाषा परीक्षा सिकेर भाषा परीक्षा दिएर पास भएको खण्डमा नेपालीहरू कोरियामा रोजगारीका लागि जान पाउँछन् ।
यो क्रम विगत १६ वर्षदेखि निरन्तर चलिरहेको छ । कोरोना महामारीको समयमा रोकिएको थियो । त्यो बाहेक भने हरेक वर्ष कोरियाले नेपालसहित विभिन्न १६ देशबाट श्रमिकहरू लगिरहेको छ । नेपालबाट हालसम्म १ लाख १० हजारभन्दा बढी नेपाली कोरिया पुगिसकेको ईपीएस कोरिया शाखाको तथ्यांक छ । हाल ४५ हजारको हाराहारीमा नेपालीहरू कोरियामा कार्यरत छन् ।
कोरियन भाषा परीक्षाका लागि सन् २००८ देखि सन् २०२३ सम्मको तथ्यांक हेर्दा ७ लाख ९९ हजार १६७ जनाले आवेदन दिएका छन् । जसमा ५ लाख ८५ हजार ९८९ जनाले परीक्षा दिएका छन् । आवेदन दिएका ७ लाख ९९ हजार १६७ मध्ये १ लाख ६४ हजार ७१६ जनाले हालै मात्रै आवेदन फारम भरेका हुन् । उनीहरूको परीक्षा मिति यकिन भइसकेको छैन ।
तीमध्ये ९६ हजार २२१ जना पास भएका छन् । त्यसमध्ये ८५ हजार ९३६ जनाले कोरियामा काम गर्न जानका लागि भन्दै जब एप्लिकेशन फर्म भरेका छन् । ईपीएस कोरिया शाखाको तथ्यांक अनुसार हालसम्म १ लाख १० हजारभन्दा बढी नेपाली कोरिया पुगेर काम गरिसकेका छन् ।
केही समय अगाडिको रेकर्डमा १ लाख १ हजार २६८ जना कोरियामा पुगेको देखिएको हो । तर, हालसम्म १ लाख १० हजारभन्दा बढी कोरिया पुगिसकेका छन् । उनीहरूको विवरण अद्यावधिक गर्न बाँकी छ ।