नवलपुरमा सवारी दुर्घटनामा परी वाग्मतीका पूर्वमन्त्री पौडेलको निधन

रामकुमार श्रेष्ठ —
नवलपुर । नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
आज दिउँसो नवलपुरको गैंडाकोट नगरपालिका ५ कालीगण्डकी चोकमा पूर्व मन्त्री सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको बसले ठक्कर दिँदा कांग्रेसका नेता एवम् पूर्व मन्त्री पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
साढे १२ बजेतिर दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा आज दिउँसो १ बजेतिर जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको हो ।
ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।