कावासोतीमा सुरू भयो नेपाल वर्ड फेयर
घनश्याम बगाले —
नवलपरासी २६ माघ । दोश्रो नेपाल वर्ड फेयर पूर्वी नवलपरासीको कावासोती १३ मा शुक्रबार सुरू भएको छ ।
वर्ड फेयरको कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतले उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा वरिष्ठ पंछीविद डा. हेमसागर बराल, पंछी संरक्षण संघ नेपालका निवर्तमान प्रमुख राजेन्द्र गुरूङ, कोषाध्यक्ष राजकुमार राई, तराई भू परिधि कार्यक्रम बाँकेका प्रमुख लक्ष्मण पौडेल लगायत स्वदेशी तथा बिदेशी पाहुनाहरूको उपस्थित रहेको थियो ।
चरा तथा यीनका बासस्थानको संरक्षण, जन चेतना र चरा पर्यटनको विकास गर्ने उदेश्य सहित वर्ड फेयर गरिएको आयोजक पोखरा पंक्षि समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनु भयो ।
स्थानीय जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति अध्यक्ष डि वि चौधरीका अनुसार वर्ड फेयरको पहिलो दिन पंछी पहिचान तालिम, स्टल तथा फोटो प्रदर्शनी, पंछी कला प्रतियोगिता, पंछी अवलोकन गतिविधि गरिएको छ ।
शनिवार गिद्दका गतिविधि अवलोकन,जंगल सफारी, लोक सांस्कृतिक प्रस्तुति,पंछी संगोष्ठी,संरक्षण तथा अनुसन्धात्मक अवार्ड वितरण लगायतका कार्यक्रम वर्ड फेयरमा गरिने जनाईएको छ ।
दोश्रो नेपाल वर्ड फेयरको सह आयोजकमा जटायु रेष्टुरेन्ट तथा वर्ड एजुकेसन सोसाईटी रहेको जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति सचिव उत्तम लामिछानेले बताउनु भयो ।





