बालेन शाह र हर्क साम्पाङबिच भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबिच भेटवार्ता भएको छ ।
धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै काठमाडौं आएकाे मेयर साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघासहितकाे टाेलीले मंगलबार मेयर बालेनलाई उनकै कार्यकक्षमा पुगेर भेटेका हुन् । केहीसमयअघि उनीहरुबीच सामाजिक सञ्जालमा घोचपेच पनि भएको थियो । तर, अहिले भने सम्बन्धमा सुधार आएको बुझ्न सकिन्छ ।
साम्पाङ काठमाडौँ आएको अवसरमा दुई स्वतन्त्र उम्मेदवारी दिएका निर्वाचित जनप्रतिनिधिबिच भेटवार्ता भएको हो ।
साम्पाङले सामाजिक सञ्जालमार्फत आफूहरूबिच भेटवार्ता भएको जानकारी गराएका छन्।
दुई मेयरबिच पछिल्लो समय घनिष्ठता बढेको छ भने साम्पाङले नयाँ पार्टी खोल्ने बारेमा बहस चलाउँदै आएका छन् । उनिहरु दुबैले गत निर्वाचनमा लौरो चिह्नबाट चुनाव लडेका थिए ।
भेटमा रमाइलो कुराकानी भएको उल्लेख गर्दै मेयर साम्पाङले तस्विरहरु सार्वजनिक गरेका हुन् ।

यसअघि मेयर साम्पाङले कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि धरान उपमहानगरपालिकातर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र बुझाएका थिए । साे क्रममा उनीहरुले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।