लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसामा अभिभावक प्रशिक्षण




प्रिय धन –

नवलपुर, २ फागुन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ मा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा आज अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ५४ औ वार्षिकोत्सव तथा बसन्त पंचमीको अवसर पारेर करिब १०० जना अभिभावकलाई प्रशिक्षण प्रदान गरेको विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो ।




शिक्षक-विद्यार्थी , शिक्षक- अभिभावक र विद्यार्थी अभिभावक बीचको अन्योन्याश्रित सम्बन्ध प्रगाढ़ बनाउने र समग्र शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि विद्यालयमा सो कार्यक्रमको आयोजना गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष हरि प्रसाद अधिकारीले बताउनुभयो ।

कार्यक्रममा मध्यविन्दु ७ का वडा अध्यक्ष कर्ण बहादुर मल्ल , वडा सदस्य शिव कुमारी मल्ल , नवजागरण नमूना माध्यमिक विद्यालय चोरमाराका प्रधानाध्यापक हरि प्रसाद देवकोटा , नेपाल लोकसेवा माध्यमिक विद्यालय बसन्तपुरका प्रधानाध्यापक लेखराज भण्डारी राजु, सरस्वती माध्यमिक विद्यालय मैनाघाटका प्रधानाध्यापक कृष्ण प्रसाद तिवारी , जनता माध्यमिक विद्यालय टांडीका प्रधानाध्यापक भानुभक्त पंगेनी , बिभिन्न समितिका पदाधिकारीहरु, विद्यालयलाई शैक्षिक र भौतिक रुपले सहयोग गर्ने सहयोगी दाताहरु , अभिभावक , शिक्षक लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सत्संग प्रतिष्ठानका अध्यक्ष , साहित्यकार तथा संचारकर्मी लक्ष्मण भण्डारीले प्रशिक्षण दिनुभएको थियो । उहाँले अभिभावकले गर्ने व्यवहार नै बालबालिकाको सिकाई हुने भन्दै नमस्कारबाट असल संस्कारसम्मका कुरा बालबालिकालाई आँफैले गरेर सिकाउनु पर्ने बताउनुभएको थियो । सहभागी सबै अत्यन्त राम्रो कार्यक्रम भन्दै विद्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव न्यौपानेले अभिभावकको उपस्थितिले विद्यालयको गौरव बढेको बताउनुभयो । साथै आज नै नयाँ विद्यार्थी भर्ना कार्यक्रम र वार्षिकोत्सव लक्षित खेलकुदको पुरस्कार वितरण गरिएको विज्ञान शिक्षक सुन्दर न्यौपानेले जानकारी दिनुभयो ।



सम्बन्धित
Loading...