रुसी सेनामा भर्ति नहुनुः प्रधानसेनापति

रामकुमार श्रेष्ठ –
नवलपरासी । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली युवाहरुले रुसी सेनामा भर्ति हुन नजान आग्रह गरेका छन् ।
शनिबार पूर्वी नवलपरासीको कावासोती हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित १८ औं ब्याज सिनियर डिभिजन एनसीसी तालिमको चौथो चरणको दिक्षान्त कवाजमा सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले नेपालमै केही गर्ने सोच युवाहरुले बनाउनु पर्नेमा जोड दिए ।
प्रधानसेनापति शर्माले भने – विदेशी सेनामा कुनै पनि हालतमा नजानु होला । रुसमा के भईरहेको छ भन्ने कुरा हामीले बुझेका छौं । त्यस्ता अकर्मक क्रियाकलापमा नलाग्न विशेष आग्रह गर्न चाहान्छु ।’ उनले युवाहरुलाई सकारात्मक पक्ष लिइ आफ्नो लक्ष्य प्राप्तिका लागि कर्म गरिरहन सल्लाहा समेत दिएका थिए ।
यसैबीच कैलाली, कञ्चनपुर, बर्दिया, दाङ्ग, नवलपरासी लगायतका१६ जिल्लाका ११ र १२ कक्षामा अध्ययनरत ५ सय ६६ जना विद्यार्थीलाई एनसीसीको १८ औं सिनियर डिभिजनबाट शनिबार दिक्षित गरिएको छ ।
एक सय दिनको तालिम लिएर दिक्षित भएका विद्यार्थीहरुलाई प्रधानसेनापति शर्माले दर्जानी चिन्ह प्रदान गरेका थिए ।
कार्यक्रममा नवलपुरका सुरक्षा निकायका प्रमुख, पूर्व सुरक्षाकर्मीहरु, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
दिक्षित विद्यार्थीहरुले कार्यक्रममा मार्च पास गर्नुका साथै विभिन्न देशभक्त सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

