डाइयलोसिस गर्न अस्पताल जाँदै गरेका विरामीको एम्बुलेन्स दुर्घटनामा निधन, ३ घाइते

रामकुमार श्रेष्ठ –
नवलपरासी । मृगौलाको रोगी भएर डाइलोसिस गर्न चितवन जाँदै गरेको नवलपरासीका १ जना विरामीको एम्बुलेन्स दुर्घटनामा परी निधन भएको छ ।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका २ भृकुटी चोकमा बस, स्कुटर र एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको निधन भएको हो भने ३ जना घाइते भएका छन ।
पूर्वपश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया आउँदै गरेको बा.प्र. ०६००१ ख ०१९६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३६ प ९०४५ नम्बरको स्कुटरलाई ओभरट्याक गर्दा नारायणगढतर्फ जाँदै गरेको ग १ च ७१५२ नम्बरको विरामी बोकेको एम्बुलेन्ससँग ठोक्किन पुगेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका नवलपुरका मध्यविन्दु नगरपालिका १२ निवासी ७५ बर्षीय मानबहादुर कुमालको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
दुर्घटनामा परी स्कुटर चालक गैडाकोट ६ निवासी ३३ बषीृय किशोर गौतम, एम्बुलेन्समा सवार मध्यविन्दु १२ का ४० बर्षीय भोटबहादुर कुमाल र ४५ बर्षीय सोमबहादुर कुमाल घाइते भएका हुन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । स्कुटर चालक भने डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।