मन्त्रालय बाँडफाँट टुङ्ग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौँ । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ ।
कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् ।
आजको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पूराना सबै मन्त्रीहरुलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले सोमबार विना विभागीय मन्त्रीकारुपमा सपथग्रहण गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले बोलायो आकस्मिक बैठक
नागरिक उन्मुक्ति पार्टीले आज आकस्मिक बैठक बोलाएको छ ।बदलिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न नाउपाले पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको हो ।
पार्टीका महासचिव गंगाराम चौधरीले भने, ‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौ । पार्टीको निर्णय अनुसार अगाडि बढ्छौ । यसमा एकल निर्णय हुँदैन । पार्टीको हितमा भए सरकारमा जान्छौ । नभए बाहिर बस्छौ ।’
बैठक बिहान १० बजे बस्ने बताइएको छ । काठमाडाैँमा बस्ने बैठकमा अनिवार्य उपस्थित हुन पनि पार्टीले निर्देशन जारी गरेको छ ।