त्रिशूलीमा बस खस्यो, पाँच जनाको मृत्यु, धेरैको सकुशल उद्धार
धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।
उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए । बसकाे गति अनियन्त्रित भएर नदीमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आमदघाटबाट डिएसपीको कमाण्डमा खटिएको टोलिले जीवितै उद्धार गरेको छ । जीवित उद्धार गरिएकामध्ये १८ जनालाई गजुरी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
बारामा बस दुर्घटना हुँदा १८ जना घाइते
बारा । चितवनबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस बाराको अम्लेखगञ्ज ३ नं पुल नजिकै दुर्घटना भएको छ । मंगलबार भएको सो दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् ।
तीव्र गतिमा गुडेको ना६ख ९०३० नम्बरको यात्रुवाहक बस अनियन्त्रित हुँदा सडकबाट २० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
दुर्घटनामा घाइते हुने १८ जनामध्ये एक जना महिला गम्भीर रहेको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् । गम्भीर घाइते भएकी महिलाको परिचय भने खुलेको छैन ।
ईप्रका सिमराका प्रमुख क्षेत्रीले तीव्र गतिमा गुडेको गाडी अनियन्त्रित भएर सडकबाट तल खसेको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौडा अस्पताल लगिएको छ ।