अन्तराष्ट्रिय महिला दिवसमा गैडाकोटमा अन्तरक्रिया




गैंडाकोट, २३ फागुन ।
११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तीकरण विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । गैंडाकोट नगरपालिकाको आयोजनामा बुधबार गरिएको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले आफ्नो नगरमा महिला पुरुषमा कुनै प्रकारको विभेद हुन नदिने प्रतिवद्धता जनाए । नगरप्रमुख अधिकारीले महिलालाई सशक्त रूपमा अघि बढ्न पनि आह्वान गरे ।

अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले सरकार समावेशीकरणको सिद्धान्तमा अगाडि बढेको भएता पनि आशातित समानताको अवस्था नदेखिएको बताए । उनले महिलाहरुको समस्यालाई समाधान गर्न उनीहरुलाई प्रविधिमैत्री कार्यक्रममा समेटिनुपर्ने आवश्यकता रहेको औँल्याए ।




कार्यक्रममा सामाजिक अभियन्ता एवं महिला अधिकारकर्मी मीना खरेलले नारी दिवसलाई केवल दिवसमा मात्र सिमित नराखी उनीहरुलाई सक्रिय गराएर सीपमुलक र नवीनतम प्रविधिमा पहुँच पुर्‍याउनु पर्ने धारणा राखिन् ।

नगर उपप्रमुख शान्ति कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा समापन मन्तव्य राख्दै कोइरालाले आधा आकाश ढाकेका नारी जातिहरुका लागि नारी दिवस अत्यन्त महत्वपूर्ण रहेको र नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक, आर्थिक, शैक्षिक राजनितिक, दृष्टिकोणले सबै तहमा नारीको बाहुल्यतालाई अगाडि बढाएर लैजानको लागि पनि यो दिवसले महत्त्वपूर्ण भुमिका खेलेको बताइन् ।

नगरकार्यसमिति सदस्य तथा सामाजिक अभियन्ता शान्ति न्यौपानेले कार्यक्रमा स्वागत मन्तव्य राख्दै संविधानमा महिला अधिकारलाई समावेश गरे तापनि नीति एकातिर काम अर्कोतिर चलेकाले वास्तविक रुपमा व्यवहारमा महिला सम्बन्धि अधिकारहरु लागू हुन नसकेको बताइन् । न्यौपानेले संविधानमा महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हक सुरक्षित हुने भनिए पनि महिलाविरुद्ध धार्मिक, सामाजिक, साँस्कृतिक र परम्परागत आधारमा शारीरिक वा मानसिक रुपमा यौनजन्य गतिविधि भैरहेकाले यस विरुद्ध आवाज उठाउनुपर्ने बताइन् ।

नगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगरभरका जनप्रतिनिधि, महिला हकहितमा काम गर्ने संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख सीता लामिछानेले सहजीकरण गरेकी थिइन् ।



सम्बन्धित
Loading...