भन्सार छली ल्याइएको १४९ बोरा चिनी नवलपरासीमा बरामद

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)ले पाल्हीनन्दन गाउँपालिका वडा नं–५ गेर्मास्थित एक गोदाम घरबाट भारतबाट भन्सार छली ल्याइएको १४९ बोरा चिनी बरामद गरेको छ ।
बुधबार दिउँसो ३ः०० बजेको समयमा पाल्हीनन्दन–५,भगतपुरा बस्ने सोमै गौडले सञ्चालन गरेको गुल्सन नितलेश राइस मिल उद्योगको गोदाम घरमा शंकास्पदरुपमा चिनी स्टक राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा राजस्व अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले चिनी बरामद गरेको हो ।
प्रहरीले अन्दाजी पाँच लाख ९६ हजारबराबरको चिनी बरामद गरी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देहीमा पठाइएको र थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
बर्दघाटमा बीस लाख मूल्यका मोबाइलको टेम्पर ग्लास बरामद
नवलपरासी । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट–४ बर्दघाटबजारस्थित कवाड खानाबाट भन्सार छली ल्याइएको मोबाइलका टेम्पर ग्लास बरामद गरेको छ ।
बुधबार बिहान ७ः०० बजेको समयमा एम.एस. स्क्रपमा अवैधरुपमा लुकाइछिपाइ राखेको अवस्थामा अन्दाजी १९ लाख ८० हजार रुपैयाँबराबरको ३० कार्टुन मोबाइलमा प्रयोग गरिने टेम्पर ग्लास नियन्त्रणमा लिइएको हो ।
बरामद सामान इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मार्फत आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)ले जनाएको छ ।