युएइमा ज्यान गुमाएका नवलपुरका बाबुरामलाई दिने ब्लडमनि जुट्यो




काठमाडौं । युनाइटेड अरब इमिरेट्स् (यूएई)को जेलमा रहेका दुई नेपाली युवालाई ब्लडमनीबापत् लाग्ने पैसा जुटेको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा मृत्युदण्ड कुरिरहेका धादिङका पलमान मगर र ओखलढुंगाका भुवन श्रेष्ठलाई ब्लडमनी तिर्ने पैसा जुटेको हो ।

आफ्नै कम्पनीमा कार्यरत रहेका नवलपुरका बाबुराम आलेमगर गम्भीर घाइते रहेका बेला उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएपछि मगर र श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । दुबईको अदालतले उनीहरूलाई नेपालमा परिवारले मागेको ५०–५० लाख रुपैयाँ ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो । उनीहरूलाई फैसला सुनाएपछि मगर र श्रेष्ठ बचाउ अभियान सञ्चालन गरेर १ करोड रुपैयाँँ संकलन गरिएको समाजसेवी घनश्याम थापामगरले जानकारी दिए ।




‘यूएईमा मृत्युुदण्ड कुरेर बसेका मगर र श्रेष्ठ बचाउ अभियानमा ५०÷५० लाख रुपैयाँ उठिसकेको छ,’ समाजसेवी थापामगरले भने, ‘बुधबारबाट अभियान बन्द गरिएको छ, विश्वभरि छरिएर बस्नुभएका भगवानरुपी सहयोगी दाता र अभियन्ता साथीहरूमा धेरै धेरै धन्यवाद ।’

अब कानुनअनुसार मृतकको परिवारको खातामा १ करोड नेपाली रुपैयाँ जम्मा भएपछि एक अरबिक वकिल खोजेर मुद्दा फिर्ताको तयारी थालिने उनले बताए ।

साथीलाई अस्पताल लैजाने क्रममा उसको मृत्यु भएपछि उनीहरू फसेको उनले बताए । कमाउन गएका आफ्ना छोरा दुबईको जेलमा रहेको र उनीहरूलाई छुटाउन ठूलो धनराशी लाग्ने भन्दै पीडित परिवारले आवश्यक सहयोग गरिदिन सञ्चारमाध्यममार्फत अपिल गर्दै आएका थिए ।

उनीहरूका परिवारले कन्सुलर विभागमा विभागमार्फत आफ्ना छोराहरू दोषी नरहेको भन्दै फैसलाको पुनरावेदनका लागि पहल गरिदिन अनुरोध गर्दै निवेदन दिएका थिए । दुबई प्रहरी अनुसन्धान र उनीहरूको बयानपछि त्यहाँको तल्लो अदालतले हत्या अभियोगमा दोषी ठहर गर्दै आजीवन कारबासको फैसला सुनाएको थियो ।

पीडित र पीडक दुवै नेपाली भएको र नेपालमै रकम दिने सहमति भएको कागज युएईको उच्च अदालतमा पेस गरेपछि भने उच्च अदालतले ब्लडमनी दिने प्रक्रिया पूरा गरे रिहा हुने फैसला गरेको बताइएको छ । धादिङ क्षेत्र नम्बर–२ का सांसद रामनाथ अधिकारी र ओखलढुंगाका सांसद रामहरि खतिवडाले उनीहरूको उद्धार गर्न सरकारलाई आग्रह गरेका थिए ।

गत साता मात्र संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले कारागारमा नेपाली कैदीलाई भेट्न र उनीहरूको तथ्यांक दूतावासलाई उपलब्ध गराउन यूएईको परराष्ट्र मन्त्रालयका कन्सुलर मामिलासम्बन्धी डिपार्मेन्टका सहायक उपसचिव फैसल ईसा लुत्फीसँग माग गरेका थिए ।

पछिल्लो समय यूएईको जेलमा रहेकालाई भेट्न समस्या भएको छ । साथै केकति नेपाली जेलमा छन् भन्ने विवरण पाउन पनि कठिन हुने गरेको छ । विभिन्न आरोपमा यूएईमा धेरै नेपाली कामदार जेल जीवन बिताइरहेका छन् भने केही नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।



सम्बन्धित
Loading...