नवलपुर क्षेत्रमा रहेका गैँडा चितवन निकुञ्जको पूर्वी क्षेत्र स्थानान्तर गरिने

चितवन निकुञ्ज अन्तर्गतको नवलपरासी क्षेत्रमा गैँडाको संख्या धेरै भएकाले भन्दै यहाँ रहेका गैडा आजबाट पूर्वी चितवनमा स्थानान्तरण गरिने भएको छ ।
चितवन निकुञ्जले नवलपरासीमा गैँडाको संख्या बाक्लो देखिएका कारण संरक्षणमा टेवा पुर्याउन र चरिचरन र बासस्थानलाई समेत सघाउन सहयोग पुगोस भनेर चितवन निकुञ्जको पूर्वी सेक्टरमा लैजान लागेको जनाएको छ ।
चितवन निकुञ्जका सूचना अधिकारी गणेश तिवारीकाअनुसार गैँडा स्थानान्तरण कार्यको सुरुवात शुक्रबार बिहानबाट सुरु गरिने छ ।
त्यसको पहिलो खेपका लागि शुक्रबार बिहान कावासोतीस्थित महाराजा सामुदायिक वनमा रहेको भाले गैँडा स्थानान्तरण गरेर लैजाने भएको छ । डार्ट गरेर काठको खोरमा राखेर सौराहदेखि केहि पूर्वतर्फको क्षेत्रमा छोडिने छ ।
गैँडा स्थानान्तरण कार्यका लागि चितवन निकुञ्जको नेतृत्वमा ६० जनाविज्ञ र सहयोगी समेतको टोली खटिएको छ । पहिलो पटकका लागि चितवन निकुञ्जको गैँडा स्थानान्तरण टोलीले काम सुरु गरिसकेको छ । गत दुई महिनादेखि कावासोतीको महाराजा सामुदायिक वन क्षेत्र आसपासमा डुल्दै गरेको गैंडा नियन्त्रणमा लिइने तिवारीले जानकारी दिए ।
तिवारीले भने – पश्चिम सेक्टरमा गैँडाको संख्या धेरै छ । एउटै थलोमा धेरै गैडा थुप्रिँदा बासस्थान, चरिचनको समस्या र प्रजनन क्षमतामा समेत कमी आउँछ । तुलनात्मकरुपमा पश्चिम सेक्टर (नवलपरासीबाट) मा धेरै गैँडा रहेको पाइएको छ । शुक्रबारबाट गैँडा नियन्त्रणमा लिने काम सुरु गरिने छ । बयस्क गैँडालाई नियन्त्रणमा लिएर पूर्व लैजाने भएको हो ।
१० वटा गैँडा स्थानान्तरण गर्ने योजना छ । यो कामका लागि पहिलो चरणमा पश्चिम सेक्टरका ६ वटा वयस्क गैंडा पूर्वी क्षेत्रमा लैजाने भएको हो । पूर्व र पश्चिम सेक्टरका गैँडामा क्रस गराएर प्रजनन क्षमतामा बृद्धि हुने विश्वास चितवन निकुञ्जको छ । पछिल्लो एक दशक यता चितवन निकुञ्जका गैँडा हेर्न आउने पर्यटकहरु चितवनमा भन्दा नवलपुरमा बाक्लिन थालेको छ ।