जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा गैडाकोटका कंडेल प्रथम


रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा भएको जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा गैडाकोट ५ डा. लक्ष्मीनाथ कंडेल जिल्ला प्रथम भएका छन् ।



नवलपुर जिल्ला बुद्धिचाल संघ नवलपुरको आयोजनामा मध्यविन्दु बहुमुखी क्याम्पसमा भएको प्रतियोगितामा ५० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा कावासोतीका डा. सूर्यबहादुर खाम्चा द्वितीय, कावासोतीकै वेदराज त्रिपाठी तृतीय भएका थिए ।



डा. कंडेलले सात राउण्डमा भएको खेलमा ६ दशमलब ५ अंक ल्याइ प्रथम भएका थिए । द्वितीय हुने डा. खाम्चाले ६ अंक र तृतीय हुने त्रिपाठीले ५ दशमलब ५ अंक ल्याएका थिए ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रथम पुरस्कार राशी सेन्ट्रल कलेज र तृतीय पुरस्कार राशी कुमारी निजी शैक्षिक गुठी कावासोतीले सौजन्य गरेको थियो ।

चैत्र २ र ३ गते गरी २ दिनसम्म चलेको प्रतियोगिताको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरेका थिए । प्रतियोगिता नवलपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष विश्वनाथ पाण्डेको अध्यक्षता र सचिव हिमलाल चापागाईको सञ्चालनमा भएको थियो ।

उद्घाटन कार्यक्रममा मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गणेशमान गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



सम्बन्धित
Loading...