नवलपरासीमा सर्वस्व सहित जन्मकैद सजाय पाएका २२ वर्ष पछि पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपरासी । सर्वस्व सहित जन्मकैद सजाय पाएका १ जना नवलपरासीमा २२ बर्ष पछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहोराका अनुसार बर्दघाट नगरपालिका १६ निवासी ४२ बर्षीय केशव गुरुङ पक्राउ परेका हुन् ।
उनले २०५८ साल कात्तिक १५ गते बर्दघाट नगरपालिका १६ सूर्यवस्ती निवासी बुद्धिजंग रानालाई गोली प्रहार गरी हत्या गरेका थिए ।
घटना पश्चात भारत र नेपालका विभिन्न स्थानमा लुक्दै बस्दै आएका गुरुङ अहिले गाउँघरमै लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा उनले प्रहरीले पक्राउ परेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत परासीमा पेश गरिएको प्रहरीले जनाएको छ ।
उनले २०५८ कात्तिक १५ गते राति सांस्कृतिक कार्यक्रम हेर्न गएका रानालाई सांस्कृतिक कार्यक्रम सकेर फर्कने क्रममा मोटरसाइकलको हेलमेटको विषयमा झगडा हुँदा गुरुङ सहित ४ जनाले गोली प्रहार गरी हत्या गरेका थिए । उनको कात्तिक १६ गते शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो ।
अभियुक्त गुरुङलाई अदालतले २०६६ साल असार २८ गते सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।