कर्णालीमा ५ सय एचआईभी संक्रमित
नेपालगन्ज, जेठ १४ ।
कर्णाली प्रदेशमा करिव ५ सय एचआईभी संक्रमित रहेको पाएको छ । कर्णाली अंञ्चलका १० जिल्लामा हालसम्म ४९४ जना संक्रमित रहेको बताएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले आयोजना गरेको एचआईभी एड्स सम्बन्धि कार्यशाला गोष्ठिमा एचआईभी संक्रमितको संख्या बढ्दै गएको बताएको छ ।
स्वास्थ्य महाशाखाका अधिकृत गोर्कण गिरीले हालसम्म रहेको आधिकारीक तथ्याक अनुसार कर्णालीका १० जिल्लामा झण्डै ५ सयको संख्यामा संक्रमित रहेको पुष्टि भएको बताउनुभयो । पछिल्लो ५ बर्षको अवधिमा एचआईभी संक्रमितको संख्यामा पुरुषभन्दा महिलाको संख्या बढ्दै गएको उहाँको भनाई थियो । कर्णाली प्रदेशमा रहेका एआरटी सेन्टर, पुर्नस्थापना केन्द्र र परीक्षण सेन्टरको तथ्याक अनुसार ५ सयको संख्यामा संक्रमित रहेका छन् ।
कर्णाली प्रदेशका ५ जिल्लामा एचआईभी एड्ससम्बन्धि संचार र तालिम कार्यक्रम संचालन गर्दै आएको प्याक नेपालका कार्यकारी निर्देशक सुनिल यादवले कर्णाली प्रदेशमा बाहिर खुलेका एचआईभी संक्रमित ५ सय रहेपनि नखुलेका र प्रदेशबाहिर रहेको तथ्याका आधारमा संक्रमित बढ्ने बताउनुभयो । प्याकले एचआईभी संक्रमितको पहिचान र संक्रमण नियन्त्रणका लागि जनचेतनाको काम गर्दै आएको भन्नुभयो । कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम एचआईभीबाट बढी संक्रमित रहेको बताएको छ ।