रुपन्देही ट्याक्सी भाडा कायम, न्यूनतम १५० रुपैयाँ, ५ किलोमिटरको ३ सय रुपैयाँ




जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा टयाक्सीको भाडादर कायम गरेको छ। जिल्ला समन्वय समितीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकायहरुको बैठकले सडक सवारी, यातायात तथा परिवाहन ऐन २०६४ को उपदफा ९० बमोजिम भाडा निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

बैठकले प्रतिकिलोमिटर ४५ रुपैयाँ भाडादर कायम गरेको छ। जिल्लाभित्र संचालन हुने पञ्जिकृत भएका सम्पूर्ण ट्क्सीहरुलाई संचालन गर्दा प्रति किमीको ४५ रुपैयाँ लिने र प्रयोग गरेबापत न्यूनतम समय १५० रुपैयाँ रहने छ। त्यसैगरी ५ किमीसम्म रु ३००, सिटी एरियामा ५ देखि १० किमीसम्म ५०० र त्योभन्दामाथी प्रतिकिलोमिटरका दरले रु ४५ भाडादर बढाउने निर्णय गरेको प्रजिअ अर्यालले बताए।



यसैगरी, रातीको समय अर्थात १० बजेदेखि बिहान ४ बजेसम्म प्रयोग गरेवापत आउने रकममा त्यसको ५० प्रतिशत थप गरेर लिन पाउने यातायात व्यवस्था कार्यालय रुपन्देहीका मेकानिकल इन्जिनियर नवीन घिमिरेले बताए।

पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतसम्म थपघट भएमा अहिलेकै भाडादर कायम रहने र त्योभन्दा धेरै घटबढ भएमा पुनः मूल्य कायम गर्ने बैठकले निर्णय गरेको छ।

त्यसैगरी बैठकले ट्क्सीहरुमा अनिवार्य मिटर जडान गर्नका लागि तीन महिनाको समय दिने र आगामी साउन १ देखि मिटर जडान अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। ट्याक्सी व्यवसायिहरुलाई संयमित रहेर सेवा प्रवाह गर्न समेत उनले आग्रह गरेका छन्।



सम्बन्धित
Loading...