कावासोतीको छिपछिपे सहकारीमा बचतकर्ताको १० करोड हिनामिना
कावासोती–४ निवासी क्रसर व्यवसायी माधव डुम्रे र शिव लामिछानेलाई बिनाधितो ७५/७५ लाख कर्जा दिएका छन्
नारायण शर्मा –
पूर्वी नवलपरासी — कावासोतीको फिल्महल चोकमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १० करोड बचत हिनामिना भएको आशंकामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले छानबिन थालेको छ । रकम फिर्ता नपाएपछि बचतकर्ताको उजुरीका आधारमा गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरिरहेको हो ।
०७२ देखि ०७९ सम्म एउटै व्यक्ति सहकारीको अध्यक्ष र व्यवस्थापक भएर बचत हिनामिना गरेको छानबिनका क्रममा देखिएको छ । बर्दिया घर भएका सहकारीका तत्कालीन अध्यक्ष तथा व्यवस्थापक योगेन्द्र पाण्डेले सहकारीको
रकम मिटरब्याजमा समेत लगानी गरेको आशंकामा अनुसन्धान भइरहेको छ । गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय प्रमुख भेषराज रिजालले पाण्डेले सहकारीकै पैसा झिकेर मिटरब्याजमा लगाएको तथा बिनाधितो आफू र नजिकका व्यक्तिलाई कर्जा प्रवाह गरेकोसमेत छानबिनका क्रममा देखिएको बताए । ‘यही चैत मसान्तसम्म हिसाब मिलाउन भनेर जिम्मा लगाएका छौं, कति रकम मिटरब्याजमा लगाएका छन् त्यसपछि खुल्छ,’ रिजालले भने ।
पाण्डेले चितवनको एउटा सहकारी संस्थामा करिब १ करोड र बर्दियाको सहकारीमा करिब ९० लाख रुपैयाँ रकमान्तर गरेको पाइएको पनि उनले बताए । ‘अन्तरसहकारी रकम हस्तान्तरण गर्न त पाइन्छ तर कुन उद्देश्यले गरिएको हो भनेर अनुसन्धान भइरहेको छ,’ रिजालले भने । पाण्डेले अहिले कावासोती–२ पञ्चकन्या चोकमा घर बनाएर बसोबास गरेका छन् । व्यवस्थापक पाण्डेले कावासोती–१६ मा रहेको आफ्नो १० धुर जग्गा धितो राखेर ०७९ पुसमा सहकारीबाट आफैंले ३२ लाख रुपैयाँ ऋण लिएका थिए ।
सहकारीका वर्तमान अध्यक्ष गोपी शर्माले सञ्चालक समितिको बैठकबिनै जग्गाको नक्कली कागजात बनाएर पाण्डेले मालपोतबाट धितो फुकुवा गराएर अन्तै बिक्री गरिसकेको जानकारी दिए । एउटै व्यक्ति सञ्चालक समितिको अध्यक्ष र व्यवस्थापक रहेर तालुकदार निकायमा वर्षौंसम्म हिसाब पेस नगर्दासमेत संस्थाको निगरानी गर्ने प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय बेखबर रहेको बचतकर्ताको आरोप छ ।
पाण्डेले आफैं सहकारीको अध्यक्ष र निर्देशक बनेर आफ्नी बहिनी नाता पर्ने (सानीआमाकी छोरी) सुनीताकुमारी न्यौपानेलाई व्यवस्थापक बनाएरसमेत रकम हिनामिना गरेको पाइएको वर्तमान अध्यक्ष शर्माले जानकारी दिए । त्यसको एक महिनापछि ऋण लिँदा धितो राखेको जग्गा आफैंले नक्कली कागजात बनाएर फुकुवा गरिसकेको देखिन्छ । उनले मालपोत कार्यालयबाट आफ्नो जग्गा फुकुवा गराए पनि कर्जा भने तिरेका छैनन् । ‘व्यवस्थापक र अध्यक्ष रहेका पाण्डे एक्लैले ४/५ करोड आफन्तलाई बिनाधितो ऋण दिएको देखिन्छ,’ अध्यक्ष शर्माले भने, ‘कावासोती–४ निवासी क्रसर व्यवसायी माधव डुम्रे र शिव लामिछानेलाई बिनाधितो ७५/७५ लाख कर्जा दिएका छन् । उनीहरू दुवैको गरेर करिब २ करोड ४३ लाख असुली हुनुपर्ने देखिन्छ । त्यत्रो रकम बिनाधितो ऋण लगानी गरेका रहेछन् ।’ उनीहरू दुवै जनालाई ०७७ मा ऋण दिइएको अध्यक्ष शर्माले बताए ।
सहकारी रजिस्ट्रार कार्यालय प्रमुख रिजालले छिपछिपे सहकारीमा सामान्य बचतकर्ताको रकमसमेत फिर्ता नभएको निवेदन परेपछि सहकारी विश्लेषक निर्मल गौतमको संयोजकत्वमा छानबिन गरेको हो । सहकारीमा टेम्पो चालक, दूध बिक्री गर्ने कृषक, रिक्सा चालक, निर्वाहमुखी जीवनयापनका लागि ससानो खुद्रा पसल थापेकाहरूले दैनिक, साप्ताहिक र मासिक बचत गर्दै आएका थिए । रकम फिर्ता नपाएपछि बचतकर्ता दिनहुँ प्रहरी, वडा, जिल्ला प्रशासन कार्यालय र नगरपालिका कार्यालय धाउन थालेका छन् । शर्मा डेढ वर्षअघि सहकारीको अध्यक्ष भएका थिए । रकम अपचलन भएको र सहकारी डुबेको देखेपछि आफूले २०८० जेठमा जिल्ला प्रहरीमा कारबाही र छानबिनको निवेदन दिँदासमेत बेवास्ता भएको अध्यक्ष शर्माले बताए । आफू अध्यक्ष भएपछि संस्थाको हिसाब किताब खोज्दा नदिएपछि छानबिनका लागि निवेदन दिएको शर्माको दाबी छ । यो सहकारीमा सेयर सदस्य र बचतकर्तासमेत गरेर २ हजार ३ सय ९३ जना आबद्ध छन् । बढी ब्याज पाउने आसमा यहाँका धेरैजसो व्यापारीले समेत बचत जम्मा गरेको पाइएको छ ।
कावासोती–२ की बसन्धरा अर्यालले छोरी–ज्वाइँले ०७६ देखि विदेशबाट पठाएको साढे १० लाख जति बचत फिर्ता माग्न जाँदा नपाएको बताइन् । ‘२ लाख मुद्दती र ८ लाख ४२ हजार ६२ नियमित बचत गरेर १० लाख ४२ हजार ६२ रुपैयाँ पुगेपछि झिक्न जाँदा दिएनन्,’ अर्यालले भनिन्, ‘बचत फिर्ता दिलाइदिन धेरै दिन प्रहरीकोमा पनि धाएँ । अब छोरी–ज्वाइँलाई कसरी मुख देखाउने ?’ उनी जस्तै २४ बचतकर्ता बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा भेला भएका थिए ।
कावासोती–२ फलफूल चोकका मासु पसले खेमलाल पौडेलले छोरीको नाममा १५ वर्षका लागि मुद्दती खातामा राखेको २ लाख रुपैयाँ झिक्न खोजेको तीन महिना बित्दा पनि नपाएको सुनाए । ‘सहकारी डुब्यो भन्ने हल्ला चलेपछि सकिनसकी बचत गरेको पैसा निकाल्न खोजेको थिएँ, तीन महिनासम्म पनि फिर्ता पाउन सकेको छैन,’ उनले भने ।
स्थानीय तेजबहादुर खत्रीले अपांगता भएकी छोरीले सामाजिक सुरक्षा भत्ताबापत मासिक ४ हजार पाउने रकम बचत गरेर पुर्याएको ३ लाख फिर्ता पाउन नसकेको बताए ।‘छोरीले ३ महिनामा पाउने १२ हजार बचत गर्दै आएर पासबुकमा ३ लाख जम्मा भएको छ तर सहकारीले रकम फिर्ता माग्दा दिँदैन,’ उनले भने, ‘हामी निमुखाको उद्धार गरिदिने कोही भएनन् ।’
दलका नेताहरू नै हिनामिना गर्ने व्यक्ति जोगाउनतर्फ लागेको बचतकर्ताको आरोप छ । हाल सहकारीमा ठ्याक्कै कति रकम बचत छ भनेर आफूलाई जानकारी नभएको भन्दै अध्यक्ष शर्मा पन्छिए । एक व्यक्तिले २४ सयदेखि ४३ लाखसम्म बचत जम्मा गरेको पाइएको छ । जिल्ला प्रहरीका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले बचतकर्ता, व्यवस्थापक पाण्डे र सञ्चालक समितिमा रहेकालाई बोलाएर बिहीबार पनि छलफल गरेको बताए ।