अम्रिसोले नवलपुरको नाङ्गोडाँडा भरियो तर बजार भाउ पाएन
रामकुमार श्रेष्ठ –
नवलपरासी । झट्ट हेर्दा इलामको चिया बगान जस्तै भएको छ अहिले नवलुरका अधिकांश डाँडा । नाङ्गो डाँडालाई हरियो बनाउन, भूक्षय, बाढी पहिरो रोक्न र स्थानीयका जीविकोपार्जनमा पनि होस भनेर नवलपुरमा पहाडि क्षेत्रमा गरिएको अम्रिसो खेती अहिले व्यापक बढेको छ ।
अम्रिसोको कारण रमणीय बनेका यहाँका डाँडा र गतबर्षसम्म राम्रो आम्दानी पाएर हौसिएका यहाँका बासिन्दाको मन भने अहिले अम्रिसोको बजार भाउ राम्रो नआउँदा औशीको जुन जस्तै भएको छ । गत बर्षसम्म राम्रो बजार भाउ पाएको अम्रिसो (कुचो) को यस बर्ष बजार भाउ ह्वात्तै घट्दा पूर्वी नवलपरासीका किसानहरु मारमा परेका छन् ।
गत बर्ष प्रतिकिलो ग्राम १ सय ३० रुपैयाँमा विक्री भएको अम्रिसो अहिले घटेर प्रतिकिलो ७० रुपैयाँमा झरेको छ । नेपालमा अहिले अम्रिसोको खेती अत्यधिक भएको र यसको माग नेपाली बजारले थेक्न नसक्दा र भारतीय बजारको भर पर्न पर्दा यस्तो भएको हो ।
पूर्वी नवलपरासीमा अहिले पहाडी क्षेत्रका नाङ्गा डाँडाहरु कबुलियति वनमार्फत अम्रिसो खेती गरेर हराभरा भएको छ । पूर्वी नवलपरासीमा १ सय ६७ वटा कवुलियति वन बनाएर यहाँका स्थानीयले समूहमा अम्रिसो खेती गरेका छन् । १ सय ६७ वटा कवुलियती वनबाट यहाँका बासिन्दाले गत बर्ष मात्रै ३ करोड १८ लाख ६५ हजार रुपैयाँको अम्रिसो विक्री गरेको थियो ।
अम्रिसो खेती गर्न अघिसम्म बर्षमा ३ महिना खान पुर्याउन धौधौ हुने गरेको स्थानीयलाई अहिले अम्रिसो खेतीबाट भएको आम्दानीबाटै बाह्रै महिना घरखर्च धान्न सहज भएको स्थानीय बासिन्दा एवम् अम्रिसो खेतीका सुपरभाइजर तुलबहादुर राना बताउँछन् । तर, यस बर्ष भने त्यो सहजता नहुने हो कि भन्ने आशंका बढेको छ । भोलि बजार भाउ आए त यहाँको बासिन्दामा फेरि आशा जाग्ला तर क्रमशः बजारभाउ घट्दै गयो भने यहाँका बासिन्दाले अब अर्को विकल्प खोज्न बाध्य हुनेछन् ।
२०७० सालबाट व्यवसायिक अम्रिसो खेती गरेका यहाँका बासिन्दालाई अहिले यस बर्ष एक्कासी गिरावट आएको बजार भाउले आशंका उब्जाइदिएको छ । कतै अब हाम्रो मिहिनेत खेरत जाने होइन् । अम्रिसोको जति उत्पादन भएको छ, त्योअनुसारको प्रचारप्रसार र बजारीकरण हुन नसकेको स्थानीय उपभोक्ता आश बहादुर दराई मगरले गुनासो गरे ।
संकलन केन्द्रमा जम्मा भएको अम्रिसो बुटबल, भैरहवा, नारायणघाट, काठमाडौं, पोखरासम्म पुग्ने गरेको स्थानीय उपभोक्ता सूर्यबहादुर सारुले जानकारी दिए । ती शहरहरुमा खपत भएर बढी भएको अम्रिसोको कुचो भारत निर्यात हुने गरेको उनले बताए ।
यहाँ नाङ्गो डाँडालाई हरियो बनाउने डिभिजन वन कार्यालयले अम्रिसो खेती गर्नका लागि विरुवा उपलब्ध गराउने, प्राविधिक सहयोग गर्ने लगायतका सहयोग गर्दै आएको छ । गतबर्षसम्म अम्रिसो खेतीबाट राम्रो आम्दानी गरेका यहाँका किसानहरुमा यस बर्षभने बजार भाउ नआएकै कारण निराश भएका छन् ।
डिभिजन वन कार्यालयले तरकारीमा मसलाको रुपमा प्रयोग गरिने तेजपत्ता, पिपला र अलैचीका साथै अम्रिसो खेती गर्न पहाडका नाङ्गा डाँडा स्थानीय बासिन्दालाई समूह बनाएर कवुलियती वनको रुपमा हस्तान्तरण गरेको छ । बौदीकाली र हुप्सेकोटमा अम्रिसो खेती भने अत्यधिक सफल भएको डिभिजन वन कार्यालय कावासोतीका वन अधिकृत शिशिर लम्सालले बताए ।
पूर्वी नवलपरासीमा करिब १५ सय हेक्टर क्षेत्रफलमा कवुलियती वन मार्फत अम्रिसो खेती हुने गरेको छ । विशेष गरी यहाँको पहाडि भेगलाई लक्षित गरी डिभिजन वन कार्यालयले अम्रिसो खेती कार्यक्रम प्रोत्साहन गरेको हो ।
नेपालमा उत्पादित अम्रिसो नेपाली बजारले धान्न नसकेको र भारतकै बजार भर पर्नु पर्ने भएकाले यस बर्ष अम्रिसोले बजार भाउ पाउन नसकेको डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारीले बताए ।
अम्रिसोको बजार भाउ नआएपछि निराश बनेका यहाँका किसानहरु मध्ये कतिपयले घरखर्च चलाउनै गाह्रो भएकाहरुले सस्तामै भए पनि विक्री गरिहेका छन् भने कतिपयले बजार भाउ उकालो लाग्ला र विक्री गरौंला भनेर बजार भाउको प्रतिक्षामा बसेको बौदीकाली ४ का वडाध्यक्ष मान बहादुर सारु मगरले बताए । बाटो विस्तार र प्रचारप्रसार भएमा अम्रिसोलाई थप विस्तार गर्न सकिने वडाध्यक्ष सारुको बुझाइ छ ।