नारायणी नदीमा दुई जनाको शव फेला




नवलपुर । चितवन र नवलपुरतर्फ गरी नारायणी नदी किनारमा दुई जनाको शव फेला परेको छ ।

नवलपुरको गैँडाकोटबाट हराइरहेका एक बालक नारायणी नदीमा मृत अवस्थामा फेला परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ५ आदर्श चोकबाट हराएका १३ बर्षिय अस्विन बस्याल नारायणी नदीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




एल्लो हाउस होटल भन्दा ठीक तलपट्टी नारायणी नदीमा बालकको शव फेला परेको हो । नदीमा नुहाउन गएका बखत बालक नदीमा डुबेर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । आज विहान ८ वजे बालकको शव भेटिएको र पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनले लगाएको कपडा हिजो साँझ नारायणी नदी किनारमा फेला परे पनि बालक भने फेला परेको थिएन ।

अस्विन चैत्र २३ गते दिउसो ३ वजेदेखि हराइरहेका थिए । परिवार र आफन्तजन उनको खोजिमा जुटेका थिए ।

बर्दघाटबाट बसाइसराइ गरि गैँडाकोट आएका अस्विन दुई दिदिहरुसँगै कोठा लिएर भाडामा बस्दै आएका थिए । अस्विनका बुवाआमा रोजगारीको शिलशिलामा दुवईमा रहेका छन् ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका-२७ सिसवारस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...